
काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले आइतबार गृहमन्त्री ओमप्रकाश अर्यालसँग भेट गरी निर्माण परियोजनाहरूमा देखिएका सुरक्षाजन्य चुनौतीबारे जानकारी गराएको छ ।
प्रतिनिधिमण्डलले निर्माण क्षेत्रमा हाल बढ्दो असुरक्षा अवस्थाप्रति चिन्ता व्यक्त गर्दै उद्योगमा सुरक्षाको पूर्ण प्रत्याभूति दिलाउन गृहमन्त्रालयमार्फत आवश्यक पहल गर्न आग्रह गरेको थियो ।
यस क्रममा कानूनविद् समेत रहेका मन्त्री अर्यालको ध्यान निर्माण उद्योगसम्बन्धी अव्यवहारिक ऐन र नियम संशोधनतर्फ पनि आकर्षित गरिएको महासंघले जनाएको छ ।
महासंघले मन्त्री अर्यालको सफल कार्यकालका लागि शुभकामना दिँदै निर्माण व्यवसायीको पक्षमा सकारात्मक कदम चालिने अपेक्षा व्यक्त गरेको छ ।