काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०८२/८३ का लागि विनियोजन गरेको कुल १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँमध्ये तीन महिनामा ३ खर्ब ६४ अर्ब ५८ करोड रुपैयाँ खर्च गरेको छ । यो वार्षिक बजेटको १८.५६ प्रतिशत हो ।

महालेखा नियन्त्रकको कार्यालयका अनुसार असोज मसान्तसम्म चालुतर्फ सबैभन्दा धेरै खर्च भएको छ । सो अवधिमा चालुतर्फ वार्षिक विनियोजनको २१.७५ प्रतिशत अर्थात् दुई खर्ब ५६ अर्ब ८० करोड ६० लाख रुपैयाँ खर्च गरिएको छ ।

यस्तै, पुँजीगत (विकास) खर्च भने न्यून देखिएको छ । पुँजीगत शीर्षकमा वार्षिक विनियोजनको चार दशमलव सात प्रतिशत अर्थात् १९ अर्ब १८ करोड ३४ लाख रुपैयाँ मात्रै खर्च भएको छ । त्यसैगरी वित्तीय व्यवस्थातर्फ २३.६१ प्रतिशत अर्थात् ८८ अर्ब ६० करोड रुपैयाँ व्यय भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।

उता, सोही अवधिमा सरकारको राजस्व संकलन लक्ष्यअनुसारको १६.५१ प्रतिशतमा सीमित भएको छ । सरकारले चालु वर्षका लागि कुल १५ खर्ब ३३ अर्ब ४४ करोड ६९ लाख रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेकोमा हालसम्म दुई खर्ब ५३ अर्ब १८ करोड ७९ लाख रुपैयाँ मात्रै संकलन भएको छ ।

आन्तरिक राजस्वतर्फ सरकारले १४ खर्ब ८० अर्ब उठाउने लक्ष्य राखेको थियो । तर असोज मसान्तसम्म वार्षिक लक्ष्यको १६.८३ प्रतिशत अर्थात् दुई खर्ब ४९ अर्ब पाँच करोड १४ लाख रुपैयाँ मात्र संकलन भएको छ ।

वैदेशिक अनुदान पनि न्यून प्राप्त भएको छ । ५३ अर्ब ४४ करोड ६९ लाख रुपैयाँ अनुदान प्राप्त गर्ने लक्ष्य रहेकामा हालसम्म तीन दशमलव ७६ प्रतिशत अर्थात् दुई अर्ब ७२ लाख रुपैयाँ मात्रै प्राप्त भएको कार्यालयको विवरणमा उल्लेख छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय