
पहिलो दिन:
काठमाडौं । नेपाली कांग्रेस उद्यमशीलता र साना तथा मझौला व्यवसायी विभागको आयोजनामा नेपाल स्टार्ट अप र साना तथा मझौला व्यवसाय सम्मेलन सुरु भएको थियो ।
नेपाली कांग्रेस केन्द्रीय कार्यालय, बी पी स्मृति भवन, बी पी नगर, ललितपुरमा भइरहेको यस सम्मेलनले भर्खरै व्यवसाय प्रारम्भ गर्ने उद्यमी, व्यवसायीहरूलाई प्रोत्साहन गर्नुका साथै व्यवसायको प्रवद्र्धन समेत हुने विश्वास लिएको आयोजकले जानकारी गराएको छ ।
सम्मेलनमा नेपालका विभिन्न साना तथा मझौला व्यवसायीहरूले आफ्नो उत्पादन र सेवाको प्रदर्शनी कार्यक्रम स्थलमा राखिएका ८० वटा स्टलहरूबाट बिक्री, वितरण एवं जानकारी समेत गराउनेछन् र दुई दिनसम्म हुने सम्मेलन तथा प्रदर्शनीमा ६ वटा सत्र मार्फत साना तथा मझौला व्यवसाय सम्बन्धी विषयगत विज्ञहरू र सरोकारवालहरू बीच छलफल आयोजना गरिएको थियो ।
उक्त सम्मेलनको समुद्घाटन नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले गरेका हुन् । सम्मेलनमा विभिन्न देशका कूटनीतिज्ञहरुको पनि सहभागिता रहेको थियो ।
नेपाल स्टार्टअप सम्मेलनमा विदेशी कूटनीतिज्ञ सहभागी
नेपाली कांग्रेसको उद्यमशील र साना तथा मझौला व्यवसायी विकास विभागले पार्टी कार्यालय सानेपामा बुधबारदेखि सुरु गरेको स्टार्टअप तथा एसएमई सम्मेलनमा विदेशी कूटनीतिज्ञहरु पनि सहभागी भएका थिए ।
सम्मेलनमा नेपालका लागि इजरायली राजदूत सुमुलिक एरी बास, दक्षिण कोरियाका राजदूत पार्क ताइ योङ, इजिप्टका लागि नेपाली दूतावासका डिसिएम मोहम्मद कान्डिल, भारतीय दूतावासका कमर्स सेक्रेटरी सुमन शेखर र बेलायती दूतावासका राजनीतिक सल्लाहकार सुमित शर्माको सहभागिता रहेको थियो ।
सम्मेलनमा सहभागीले नेपालको ठूलो दल नेपाली कांग्रेसले स्टार्टअप प्रबद्र्धनका लागि गरेको प्रयासको प्रशंसा गरेका छन् । त्यसैगरी उनीहरुले पार्टी कार्यालय सानेपामा राखिएका विभिन्न स्टलहरुको अवलोकन गर्नुका साथै हस्तकला अनुपम भएको भन्दै प्रशंसा गरेका हुन् ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उद्घाटन गरेको सम्मेलनमा विभिन्न नेपाली हस्तकला तथा घरेलु उत्पादनका सामग्रीहरु प्रदर्शन गरिएका छन् ।
पहिलो सेसन
नवप्रवर्तन र उद्यमशीलताद्वारा आर्थिक रुपान्तरण
‘सरकारको ‘सर्पोट विना’ स्टार्टअपले गति लिन सक्दैन’
नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर डा. चिरन्जिवी नेपालले सरकारको ‘सर्पोट विना’ स्टार्टअप र उद्यमशीलताले गति लिन नसक्ने बताएका छन् । स्टार्टअपलाई सरकारको नीति, शिक्षा र तालिम, बैंकिङ सर्पोट आवश्यक हुने उनको भनाई थियो ।
नेपाली कांग्रेस उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभागको आयोजनामा आजबाट सुरु भएको नेपाल स्टार्टअप र साना तथा मझौला सम्मेलनमा ‘नवप्रवर्तन र उद्यमशीलताद्वारा आर्थिक रुपान्तरण’ विषयक प्यानल डिस्कसनमा बोल्दै नेपालले उद्यमशीलता विषय प्रारम्भिक शिक्षाबाटनै हुनुपर्ने बताए ।
स्टार्टअप र उद्यमशीलताका लागि सरकारको सहुलियत कर्जा बढाउनु पर्ने बताए । सहुलियतपूर्ण कर्जा केन्द्रीय बैंकबाट जान नसकेको बताउँदै नेपालले कर्जा प्रवाह बढाउनुपर्नेमा जोड दिए ।
त्यस्तै नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले सरकारले विभिन्न कानुन संशोधन हुने गरी अध्यादेश ल्याएपछि निजी क्षेत्र उत्साहित भएको बताउँदै श्रेष्ठले व्यवसायिमा नयाँ उर्जा पलाएको बताए । निजी क्षेत्रले धेरै वर्षदेखि उठाउँदै आएको मागलाई सरकारले सम्बोधन गरेको बताउँदै अध्यादेश पास भएपछि अर्थतन्त्र चलायन हुने उनकोदाबी छ ।
‘अध्यादेशमा केही अपुग कुराहरु पनि छन् । त्यस विषयमा अध्यादेश टेबल भैसकेपछि छलफल गरौंला’, श्रेष्ठले भने, ‘हामी हाम्रा सुझावहरु पनि पेश गर्ने छौं । त्यसमा माननीयहरुमा अहम भूमिका हुनेमा हामी आशावादी छौं ।’ मुलुकको वर्तमान परिस्थितीलाई सुधान गर्न सबै एकजुट हुनुपर्ने उनले बताए । उनले भने, ‘२०/४० प्रतिशतमा मात्रै उद्योग चलिरहेको छ । व्यवसाय सुस्ताएको छ । माग कम छ । व्यवसायिमा नैशास्यता छ । व्यवसायिको मनोदशा गम्भिर छ । मनोदशालाई परिवर्तन गर्न जरुरी छ । नीतिगत स्थिरता र निरन्तरता प्रमुख कुरा हो ।’
राज्इले उद्योग व्यवसाय गर्ने नभई अभिभावकीय भूमिका निर्वाह गर्नुपर्नेमा उनको जोड थियो । ‘व्यवसाय गर्दा राज्यलाई के फाईदा दियो त्यो हेर्ने, हो नाफा हेर्ने होईन । हाम्रो पनि व्यवसायिक धर्म हो । हामी नाफा हेर्छौं । उचित र अनुचित नाफामा सरकारले हेर्नुपर्छ’, श्रेष्ठले भने । उद्यमशीलता विषय घरबाटै सिकाउनु पर्ने श्रेष्ठको भनाई छ । उद्यमशीलता पाठ्यक्रमा समावेश गर्नुपर्नेमा उनको जोड थियो ।
नबिल बैंकका सिनियर डिसिओ मनोज ज्ञवालीले विश्वभर चलिरहेको स्टार्टअप ९० देखि ९५ प्रतिशत असफल हुने बताए । स्टार्टअप सुरु सुरुमै असफल हुने उनको भनाई छ । बैंकले बिजनेश असफलको रिक्स लिन नसक्ने कारणले स्टार्टअपलाई बैंकहरुले लगानी नगर्ने बताए । स्टार्टअपहरुले बैंकहरु खोज्नेभन्दा पनि सरकारी श्रोतहरु खोज्नुपर्ने उनको सुझाव छ । ‘यदी स्टार्टअप गर्ने हो भने आफ्नो सञ्चित रकमबाट सुरु गर्नुहोस् । यदी पुगेन भने परिवारको सदस्यहरुबाट लिनुहोस् । त्यसले पनि पुगेको भने भेन्चर क्यापिटलहरुमा जानुहोस् । त्यसले पनि पुगेन भने सरकारमा पुग्नुहोस् । यति गरेपछि स्टार्टअप ग्रो हुन्छ र बैंक त्यसपछि तपाईको पछि पछि लाग्छ ।’
त्यस्तै गोल्डस्टार सुजका कार्यकारी निर्देशक विदुषी रानाले उत्पादनमूलक क्षेत्रमा नेपालले लगानी बढाउन जरुरी रहेको बताईन । नेपाली युवाहरुलाई शिप, तालिम प्रदान गरेर, नेपाली राखेर रोजगारी दिन सकिने उनको भनाई छ । ‘व्यवसाय गर्न नेपालमा मात्रै नभएर विश्वमै चुनौती छ । तर, नेपालमा धेरै चुनौतीहरु छन् । जुनसुकै व्यवसायमा प्रविधिको अनिवार्य भैसकेको छ । यदी प्रविधिलाई प्रयोग गरिएनौं भनेपछि परिन्छ’, उनले भनिन् ।
उत्पादनमूलक उद्योगलाई बैंकहरुले प्रवाह गर्ने कर्जा महंगो भएको रानाले बताईन । ‘नेपालमा करिब १५ सय वटा फुटवेयर कम्पनीहरु छन् । करिब १५० कम्पनी मझौता र ४/५ वटा ठूला कम्पनी छन् । करिब ५० हजार जनालाई प्रत्यक्ष रोजगारी फुटवेयर उद्योगहरुले दिएका छन् । जसमध्ये ७५ प्रतिशत महिला जोडिएका छन् । नेपालबाट विदेश निर्यात हुने जुत्ताहरु मध्ये ९० प्रतिशत गोल्डस्टार रहेका छन् । पछिल्लो १० वर्षयता निर्यात गर्न गाह्रो भएको छ । बैंकको ब्याजदर महंगो छ । ट्रेडिङ र उत्पादनमूलक क्षेत्रमा व्याजदर फरक हुनुपर्छ ।’ उत्पादनमूलक उद्योगलाई सरकारबाट प्रोरेक्शन हुनुपर्नेमा उनको जोड छ ।
नास आईटीका उपाध्यक्ष गौरव पाण्डे युवालाई विदेश जान रोक्नुभन्दा पनि विदेशीएका युवालाई नेपाल फर्काएर व्यवसाय गर्नको लागि प्रोत्साहन गर्नुपर्नेमा जोड दिए । आईटी क्षेत्रमा नेपालले धेरै अघि बढेको बताउँदै करिब १ लाख युवा यस क्षेत्रमा आवद्ध रहेको बताए । अबको १० वर्षमा ४ लाख युवालाई रोजगारी प्रदान गर्न सकिने र वार्षिक १० खर्ब विदेशी मुद्रा आर्जन गर्न सकिने बताए । यसका लागि सरकारको नीति, बैंकिङ सर्पोट महत्वपूर्ण हुने उनले बताए ।
कार्यक्रमको सहजिकरण किङ्स कजेजका अध्यक्ष नारोत्तम अर्यालले गरेका थिए। आजबाट सुरु भएको सम्मेलन दुई दिन सम्म चल्नेछ । सम्मेलनमा ६ वटा विषयमा प्यानल डिस्कसन हुनेछन् ।
दोश्रो सेसन:
नेपालमा लगानी: स्टार्टअप र एसएमईहरुको भविष्य
स्टार्टअपका लागि लगानीको सहज वातावरण र एकद्वार प्रणाली आवश्यक
नेपालका उद्योगी–व्यवसायीहरुले नेपालमा स्टार्टअप र साना तथा मझौला उद्योग स्थापना र प्रबद्र्धनका लागि लगानीको सहज वातावरणका साथै कानुनी जटिलताहरु हटाएर एकद्वार प्रणाली लागु गर्नुपर्ने बताएका छन् ।
नेपाली कांग्रेसको उद्यमशील र साना तथा मझौला व्यवसायी विकास विभागले पार्टी कार्यालयमा बुधबारदेखि सुरु गरेको स्टार्टअप तथा एसएमई सम्मेलनको दोस्रो सेसनमा बोल्ने वक्ताहरुले सरकारले लगानीका लागि भइरहेका कानुनी जटिलता हटाउनुपर्ने बताएका हुन् ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले सरकारले ल्याएको अध्यादेशले उद्योगी व्यवसायीहरुलाई सहज भएको बताएका हुन् । उनले भने, “सरकारले ल्याएको अध्यादेश महत्वपूर्ण छ । यसले धेरै आर्थिक ‘रिफर्म’का कामका लागि उद्योगीलाई उत्प्रेरित गरेको छ । यसलाई छिट्टै कार्यान्वयनमा ल्याएर सहयोग गर्न पनि पनि आग्रह गर्दछु ।”
उनले उद्योग वाणिज्य महासंघले सबैलाई समेट्न नसक्ने भएकोले राजनीतिक दलहरुले गर्ने यस्ता नवप्रवर्तनका कामहरुलाई प्रोत्साहन गर्न सकेकोमा युवाहरुलाई लगानी र स्टार्टतर्फ आकर्षित गर्न सकिने बताएका छन् । उनले कांग्रेसले आयोजना गरेको यस कार्यक्रमले धेरै युवाहरुलाइ उधम क्षेत्रमा प्रबेश गर्न महत्वपूर्ण भूमिका खेल्नेसमेत बताएका छन् ।
काम गर्ने इमानदारीता र इच्छाशक्ति भएमा सफल उद्यमी बन्न असम्भव नभएको उल्लेख गर्दै अध्यक्ष ढकालले भने, “यो श्रेणीमा आउन मलाइ ४० बर्ष लाग्यो । पहिला चुनौती थियो अहिले धेरै सहज छ । अहिले बैंक र बित्तीय संस्थाले सहज रुपमा ऋण लिन सकिने व्यवस्था गरेका छन् । विभिन्न समिटहरु भइरहेका छन । त्यसबाट सहजै अवसर लिन सकिने अवस्था छ ।”
त्यसैगरी नेपाल महिला उद्यमी महासंघका अध्यक्ष शोभा ज्ञवालीले नेपाली उत्पादनलाई प्राथमिकता दिनुपर्ने बताएकी छन् । उनले भनिन्, “सहज ढंगले उद्योग व्यवसाय गर्नका लागि आर्थिक नेटवर्किङ धेरै महत्वपूर्ण भएकाले बैंक बित्तीय संस्थाले उद्योग व्यवसाय गर्नेहरुको लागि विश्वास गर्नुपर्छ । जबसम्म हामीले नेपालमै उत्पादित सामग्रीको प्रयोग गर्न सक्दैनौं तबसम्म हामी आत्मनिर्भर बन्न सक्दैनौं । सुरुमा आफूले आफैंलाइ विश्वास गर्न सक्नुपर्छ ।”
नेपाल महिला उद्यमी महासंघमा ५५ सय महिला उद्यमीहरु आवद्ध छन् । र देशभर लाखौं उद्यमीहरुलाई यसमा जोडन भुमिका खेलेको अध्यक्ष ज्ञवालीले बताएकी हुन् । नेपालमा महिलाहरु आफैं आत्मनिर्भर बनेर अगाडि बढ्नको लागि निरन्तर प्रयत्न गरिरहेको समेत उनले बताइन् । उनले थपिन्, “हामीले राज्यलाई भनेका छौँ र ५२ प्रतिशत महिला छौँ । हामी ५० प्रतिशत अधिकार राजनीति वा व्यवसायिक जीवनमा पनि प्रयोग गर्न चाहन्छैं र त्यसका लागि अबसर दिनुपर्छ ।”
विजनेस अक्सिजनका सीईओ सिद्धान्त राज पान्डेले विदेशीने युवाहरुलाई नेपालमा नै राख्नका लागि सहज लगानीको वातावरण र कानुनी झन्झटहरुबाट मुक्त गरिनुपर्ने बताए । उनले भने, “नेपालमा युवा पुस्ताले साइड विजनेस गरेर लाखौँ कमाइरहेका छन् । केही नभएको भन्ने होइन तर युवा पुस्तालाई विदेशीनबाट रोक्नका लागि लगानीमा सहजीकरण र कानुनी अड्चनहरु फुकाउनुपर्ने देखिन्छ ।”
उनले वैकल्पिक लगानीलाई खुला गर्नुपर्नेसमेत तर्क गरेका छन् । उनले भने, “हामीले वैैकल्पिक लगानीलाई पनि खुला गर्न आवश्यक छ, जसका कारण बैंक तथा बित्तीय संस्थासँग मात्र भर पर्नुपर्ने बाध्यात्मक परिस्थिति सिर्जना नहोस् ।
चौधरी ग्रुपका प्रबन्ध निर्देशक निवार्ण चौधरीले वित्तिय संस्थाले ठूलो लगानीको वातावरण सिर्जना गरेको उल्लेख बताएका छन् । उनले भने, “निजी क्षेत्रलाई प्रोत्साहन गर्दै सरकारले नवपवर्तनलाई बढावा दिने कानुनी सहजीकरण गर्न सकेको अवस्थामा मुलुकको अर्थतन्त्र चापमा पर्दैन । उनले सकारात्मक सोचसहित व्यवसाय गर्नको लागि युवा वर्गलाइ जागृत गर्नसके आर्थिक परिवर्तन सम्भव भएकोसमेत बताएका छन् ।
२७ वर्षदेखि निरन्तर उद्यमशीलताका क्षेत्रमा काम गरिरहेका औद्योगिक उद्यम विकास संस्थानका प्रमुख उमेश कुमार गुप्ताले पछिल्लो समय स्टार्टअपको दायरा बढ्दै गएको बताएका छन् । उनले भने, “केही वर्षयतादेखि स्टार्टअपको दायरा फराकिलो बन्दै गएको छ । हामीले निरन्तर उद्यमी नहुउन्जेल फलो गरिरहेका छौँ ।
गत वर्षदेखि हामीले स्टार्टअप कर्जासहितको नीति अगाडि बढाएका छौं । आगामी दिनमा यो क्षेत्र झनै फराकिलो बनेर अगाडी बढने आधार तयार भइरहेका छन् ।” उद्यमशीलताको विकासका लागि अझै धेरै काम गर्न बाँकी रहेको उल्लेख गर्दै उनले भने, “सरकारले उद्योगी व्यवसायीको लागि कानुनी व्यवस्थाको सहजीकरण गर्ने हो भने युवाहरु व्यवसायिक क्षेत्रमा प्रवेश गर्न असहज छैन ।”
तेश्रो सेसन:
कृषि उद्यमशीलता: अवसर र चुनौती
“कृषि अर्थतन्त्र बलियो बनाउन सहकारी मोडल”
मुक्तिनाथ कृषि कम्पनीका प्रमुख सिताराम काफ्लेले नेपालको कृषि अर्थतन्त्रलाई बलियो बनाउनका लागि सहकारीको मोडल अवलम्बन गर्नुपर्ने बताएका छन् । नेपाली कांग्रेसको उद्यमशील र साना तथा मझौला व्यवसायी विकास विभागले पार्टी कार्यालयमा बुधबारदेखि सुरु गरेको स्टार्टअप तथा एसएमई सम्मेलनको तेस्रो सेसनमा बोल्ने वक्ताहरुले नेपाललाई कृषिमा आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिएका छन् ।
मुक्तिनाथ कृषि कम्पनीका प्रमुख काफ्लेले भने, “कृषिमा सफलताको लागि सहकारीको मोडलबाट नेपालको कृषि अर्थतन्त्र अगाडि बढाउने हो भने संस्थागत रुपमै नेपालको कृषि क्षेत्रको समस्या समाधान हुन्छ ।” मुक्तिनाथ कृषि मोडल त्यसै अनुसार अगाडी बढेकोसमेत उनले जानकारी गराएका छन् । उनले थपे, “नेपालको अर्थतन्त्रको जग नै कृषि पेशा हो । देशको धेरै जनसंख्या कृषिमा संलग्न छन् । जुन सानो वा ठूलो परिवार कृषि पेशामा समाहित भएर नै जिवीकोपार्जन गरिरहेका छन् । देशभर भएका सहकारीको कारण यो पेशामा लाग्ने व्यसायिकरुपमा सफल भएका र असफल भएको उदाहरण छ । कृषिलाइ रुपान्तरण गर्नको लागि संस्थागत हुनुपर्छ । जसका लागि पब्लिक कम्पनीको व्यवस्थापन हुनुपर्छ ।”
त्यसैगरी हाइलाइफ अग्रो फुड इन्ड्रस्ट्रीज्का प्रमुख अम्बिका पौडेलले कांग्रेसले महत्वपूर्ण कार्यक्रम आयोजना गरेकोमा धन्यवाद दिँदै अहिलेको कृषि अर्थतन्त्रमा आयात प्रतिस्थापन गर्न सके मात्र औद्योगिकरणमा नेपाल आत्मनिर्भर बन्नसक्ने बताए । त्यसका लागि कृषिमा काम गर्ने व्यावसायीहरुलाई बिश्वास गर्नुपर्ने पनिसमेत उनले बताएका छन ।
उनले थपे, “जबसम्म उत्पादन गर्ने निकाय र जिम्मा लिने निकायले कृषिलाइ महत्वको साथ हेर्दैन तबसम्म किसानले मूल्य नपाउने समस्या रहिरहन्छ । कृषि क्षेत्रमा सप्लाइ चेन गर्न नसक्ने हो भने कृषि क्षेत्रमा रिफर्म सम्भव छैन ।”
कृषकका समस्या समाधान गर्नका लागि राज्यले राम्रो पोलिसी निर्माण गर्ने हो भने नेपालमा कृषि क्षेत्र कायापलट हुने र अर्थतन्त्र पनि बलियो बनाउन सकिने अग्रो फुड इन्ड्रस्ट्रीज्का प्रमुख पौडेलको राय छ ।
त्यस्तै काठमाडौ विश्वविद्यालयका प्राध्यापक भिम श्रेष्ठले नेपालका धेरै युवाहरु कृषिमै काम गर्नका लागि बाहिर जाने प्रतिष्पर्धा गर्नु चिन्ताको बिषय भएको बताएका छन् । उनले थपे, “अथाह सम्भावना भएको नेपालमा कृषि पेसाको सम्मान नहुनु, कृषि गर्नका लागि राज्यले व्यावसायिक वातावरण निर्माण गर्न नसक्नु प्रमुख समस्या देखिन्छ ।”
उनले पोलिसी निर्माण गर्दा कम्तिमा २० बर्ष रिफर्मको यात्रा तय गर्न सक्नुपर्ने उनको तर्क छ । नेपालको वातावरणीय क्षेत्रलाई आत्मसाथ गरेर अध्ययन अध्यापनको थलो बनाउन सकियो भने पनि नेपालवाट प्राविधिक शिक्षा दिएर विद्यार्थी पठाउन सकिनेसमेत उनले बताए ।घरेलु अथा सना उद्योग महासंघका उपाध्यक्ष सान्ता बास्कोटा कोइरालाले नेपालको कृषि क्षेत्रको सम्भावनालाई उत्पादन र बजारीकरणको मापदण्ड बनाउनको लागि उत्पादनकर्ताले मात्र नसक्ने बताएकी छन् ।
उनले भनिन्, “त्यसका लागि बजारीकरण गर्नका लागि सहजीकरण गर्ने निकायले भूमिका खेल्दछ । त्यसका लागि सरकारले न्युनतम मूल्य तोक्नै पर्छ । न्यूनतम् मूल्य तोक्दा उत्पादनकर्ता पनि घाटामा जानु पर्दैन ।” अहिले हामी ३२ ओटा वस्तुमा आत्मनिर्भर भएको भन्ने उद्योग मन्त्रालयको तथ्यांकमा उल्लेख छ । बुधबारदेखि सुरु भएको नेपाल स्टार्टअप र एसएमई सम्मेलन बिहीबार बेलुका सम्पन्न हुनेछ ।
नेपाल स्टार्टअप र एसएमई सम्मेलन नविन उत्पादन र लगानीकर्तालाई अवसर: सभापति देउवा
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल स्टार्टअप र एसएमई सम्मेलन नविन उत्पादन र लगानीकर्ताका लागि एक अवसर भएको बताएका छन् । ललितपुरको सानेपामा बुधबार नेपाल स्टार्टअप र एसएमई सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै सभापति देउवाले भने, “यस सम्मेलनले विभिन्न नविन उत्पादन, सेवाहरुको प्रदर्शनीले स्थानीय उद्यमशीलतालाई प्रोत्साहन गर्दै लगानीकर्तालाई पनि अवसरका लागि प्रेरणा मिल्ने छ भने वेरोजगारी समस्यामा पिरोलिएका युवा जमातमा स्वरोजगारको नयाँ ढोका खोल्नेछ ।”
सभापति देउवाले नवप्रवर्तन र उद्दमशीलताका माध्यमबाट विश्वव्यापी मन्दीको मारमा परेको मुलुकको आर्थिक अवस्थामा सुधार ल्याउन समेत टेवा पुग्ने विश्वास व्यक्त गरेका छन् । उनले भने, “खासगरी केही गरौं भन्ने भावना बोकेका युवा र महिला समुदायको उद्यमलाई प्रोत्साहन गर्न के कस्तो नीति निर्माण गर्ने भन्ने बिषयमा यो कार्यक्रममा छलफल हुने विश्वास मैले लिएको छु ।”
गाउ–गाउँमा स्थानीय उद्यमशीलताको विकास गर्दै आत्मनिर्भरता र रोजगारी सृजना गर्नु पर्ने अहिलेको अवश्यकता भएको उल्लेख गर्दै सभापति देउवाले भने,“गाउँ तहदेखि उद्यमको विकास हुँदै जाँदा सानो लगानीले पनि रोजगारी र आत्मनिर्भरतामा सहयोग पुर्यााउँछ । पछिल्लो समय स्टार्ट अप व्यवसायतर्फ आकर्षण बढ्दो छ । युवा पुस्ताले थोरै लगानीमा पनि सिर्जनात्मक ढंगले काम गर्ने प्रयाश गर्दैछन् ।”
सभापति देउवाले थोरै लगानीमै स्टार्टअप व्यवसायलाई प्रभावकारी रुपमा संचालन गर्ने हो भने रोजगारीमा क्रान्ति ल्याउन पनि सकिनेसमेत उल्लेख गरेका छन् । उनले थपे, “यस्ता उद्यम सञ्चालन गर्न सहुलियतपूर्ण ऋण, तालिम, सीप विकास र विशेष अनुदान पनि आवश्यक पर्छ । व्यवसायमा टिक्नका लागि उद्यमीले धैर्य सँगै निरन्तरता दिनुपर्ने भएकाले सरकारको साथ, समर्थन र संरक्षकत्व अपरिहार्य हुन्छ ।”
उनले यही अवस्थालाई मध्यनजर गरि नेपालको स्थानीय उत्पादन वृद्धि गर्दै आयात प्रतिस्थापन गर्ने र वैदेशिक व्यापार घाटा न्यून गर्दै लैजाने उद्देश्यले हामीले साना तथा मझौला उद्यम व्यवसाय प्रवर्धन गर्ने नीति लिएकासमेत जानकारी गराएका छन् ।
उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभाग गठनको औचित्यबारे प्रस्ट पार्दै भने, “नेपालमा युवा उद्यमीलाई आकर्षण गर्न, उनीहरुको व्यवसाय प्रवर्धन गर्न र साना तथा मझौला उद्योगी व्यापारी व्यवसायीहरुको समस्या वुझि पार्टीलाई सुझाव दिन यो विभाग गठन गरिएको हो । उद्यमी, व्यापारी, व्यवसायीहरुले भोग्नु परेका कानूनी तथा प्रकृयागत झन्झटहरु अन्त्य गर्दै व्यवसायमा सहजीकरण गर्न हालसालै सरकारले कानून ल्याएको छ । यो कानूनले यस क्षेत्रको सुधारमा अवश्य पनि सहयोग पुग्ने विश्वास लिएको छु ।”
उनले सरकारले मुलुकको समुन्नतीका लागि सूचना प्रविधि क्षेत्रमा पनि ध्यान दिनुपर्ने बताएका छन् । यी सबै कार्य गर्न राजनीतिक स्थिरतासँगै प्राकृतिक स्रोत, मानव संसाधन, पूँजी र प्रविधिको सन्तुलित र समन्वयात्मक विकास हुनुपर्नेसमेत बताएका छन् ।
सम्मेलनमा अतिथिहरुलाई स्वागत गर्दै विभागका संयोजक उर्मिला थपलियाले यस सम्मेलनले नेपालको डिजिटल अर्थतन्त्रलाई प्रबद्र्धन गर्ने र साना उद्यमीलाई प्रोत्साहन गर्नका योगदान गर्ने विश्वास व्यक्त गरेकी छन् । उनले भनिन्, “दुई दिनसम्म सञ्चालन हुने यो सम्मेलनले विभिन्न क्षेत्रका सिकाई, अनुभव र विचारबाट एक अर्कामा ज्ञानको प्रवाह हुने र युवा उद्यमी एवम् नयाँ पुस्ता जोडिँदा पार्टीलाई समेत टेवा पुग्नेछ ।”
बुधबार र बिहीबार गरी नवप्रवर्तन र उद्यमशीलताद्वारा आर्थिक रुपान्तरणलगायतका विभिन्न ६ वटा विषयमा विभिन्न सेसनमा छलफल हुनेछ । सम्मेलनको निष्कर्षबाट प्रतिवेदन र पुस्तक तयार गर्ने, उद्यमशीलता र आर्थिक वृद्धिमा योगदान दिने युवाहरुको नेटवर्क निर्माण, नीतिगत सुधार र प्रदर्शनी मार्फत स्थानीय उत्पादनहरुको प्रचार–प्रसार एवम् बिक्रीमा बृद्धी गर्ने लगायत लक्ष्य राखिएको छ ।
दोश्रो दिन
पहिलो सेसन:
उद्यमशीलता र जनशक्ति विकासः आईटी क्षेत्रको लागि तयारी
आईटी क्षेत्रबाट मात्रै वार्षिक १० खर्बभन्दा बढी आम्दानी गर्न सकिन्छ”
नेपाली कांग्रेसको उद्यमशील र साना तथा मझौला व्यवसायी विकास विभागले आयोजना गरेको सम्मेलनमा वक्ताहरुले नेपालले आईटी जनशक्ति उत्पादन गर्ने हो भने वार्षिक १० खर्बभन्दा बढी आम्दानी गर्न सकिने बताएका छन् । कांग्रेसको पार्टी कार्यालय सानेपामा जारी नेपाल स्टार्टअप र एसएमई सम्मेलनको दोस्रो दिनको पहिलो सत्र “उद्यमशीलता र जनशक्ति विकासः आईटी क्षेत्रको लागि तयारी” शीर्षकमा भएको सामूहिक छलफलमा बोल्ने वक्ताहरुले आईटीमा थोरै लगानी गर्नसके राम्रो परिणाम हात पार्न सकिने बताएका हुन् ।
इनोभेटिभ नेपाल (आईएनजी) ग्रुपका प्रमुख सुलभ बुढाथोकिले नेपालको आइटी क्षेत्रमा धेरै अवसर भएकाले दक्ष जनशक्ति निर्माणमा लगानी आवश्यक भएको र हामीले आवश्यकता अनुसार जनशक्ति उत्पादन गर्नसकेमा वार्षिक १० खर्बभन्दा बढीको आईटी सेवा निर्यात गर्न सकिने बताएका हुन् ।
उनले भने, “अहिले हामीले दक्ष जनशक्ति निर्माणको लागि प्रयत्न गरिरहेका छौं । हरेक आईटी कलेजहरुमा कोटा नछुट्याइ सहजै आईटी पढन सकिने व्यवस्था गर्नुपर्ने नीति अवलम्बन गर्नुपर्छ भनेर लविङ गरिरहेका छौं ।” अहिले विश्वभर सबैभन्दा बढी आर्थिक उपार्जनको स्रोत बनेको पर्यटन क्षेत्रलाई पनि आईटीले उछिनिसकेको अवस्था रहेको उनले बताए । उनले थपे, “सबैभन्दा पहिले स्टार्टअपलाई खुला नीति ल्याएर राज्यले अगाडि बढाउनु पर्छ । अहिले आईटी क्षेत्रमा सवा खर्ब लगानी भइसकेको छ । प्राक्टीकल एजुकेशनलाई अगाडि बढाएर ११/१२ पढेका विद्यार्थीलाई सहजै आईटी पढन सहजीकरण गर्नुपर्छ ।”
युवा पुस्ताले पनि चुनौतीबाट भाग्ने नभएर त्यसलाई अवसरको रुपमा लिनुपर्ने उनको राय छ । “अवसर चुनौतीको रुपमा आउने र चुनौती आउनेवित्तिकै अवसर हुन्छ भन्ने माइन्डसेट तयार गर्न आवश्यक छ,” उनले भने, “अरुले के सोचिरहेका छ भन्ने कुरा आफूले सोचेर उद्यम सुरु गर्न सक्यो र त्यसलाई गहनरुपमा केलाएर चुनौतीबाट नभागेर क्यास गर्न सकियो भने स्टार्टअप सुरु गर्न त्यति गाह्रो काम पनि छैन ।”
त्यसैगरी त्रिभुवन विश्वविद्यालयका डीन प्रा. डा. महाननन्द चालिसेले अहिलेको समयमा प्राविधिक शिक्षासहितको व्यवसायिक ज्ञानमा राज्यले ध्यान दिनुपर्ने बताएका छन । उनले पढाइमा सरकारले प्राविधिक पक्षमा ध्यान दिनुपर्ने बताएका हुन् । जसका लागि त्रिभुवन विश्वविद्यालयले नीरन्तर आफ्नो तफबाट काम गरिरहेको पनि उनले जानकारी गराए ।
उनले थपे, “सरकारले नीति त ल्याउँछ तर प्राविधिक क्षेत्रमा विद्यार्थीलाई कसरी जोडने भन्ने बिषय समेटिएको छैन । हरेक संकायमा प्राविधिक र व्यवसायिक सिप सिकाउने गरी पाठ्यक्रम निमार्ण गर्ने र त्यसलाई व्यवहारिक रुपमा लागु गर्न आवश्यक छ ।”
अहिले राज्यले विश्वविद्यालयसँग सहकार्य गरेर आईटी क्षेत्र र उद्यमका विभिन्न क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्नेतर्फ ध्यान दिनुपर्ने विषय प्रा.डा. चालिसेले बताए ।
सीनासका कार्यकारी निर्देशक मिर्गेन्द्र कार्कीले परिवर्तनशील समय अनुसार सपना देख्ने, लगानी गर्ने, र प्रयोग गर्ने क्षेत्रलाई छुट्याएर त्यसको ब्रान्डीङसहितको प्रचार गर्न आवश्यक भएको बताएका छन् । उनले देशको भुगोल अनुसारको उत्पादित सामग्रीको राज्यले प्रबद्र्धन गर्न सकेको अवस्थामा हामी समग्र आर्थिक रुपान्तरण गर्न सहज हुने बताएका छन् ।
उनले थपे, “स्टार्टअप, उद्यमशीलता र व्यवासयिक सिप तथा तालिमका विषय भूगोल अनुसार जनतालाई जागृत गर्न आवश्यक छ । वीपीले भनेको समग्र भूगोलमा रहेको जनताले आफ्नो हैसियत अनुसारको काम गरेर स्वतन्त्र रुपमा समृद्धिका साथ बाँच्न पाउने अधिकार नै मानवाधिकार हो । विश्वविद्यालय, राज्य र अभिवाभक सबैको सहकार्यबाट बन्ने जीवन निर्वाहको आधार नै उद्यम हो ।”
योङ इनोभेसनका संस्थापक विभूषण बिस्टले राज्यले आईटी क्षेत्रलाई समेट्ने गरी नीति ल्याएको अवस्थामा अहिलेको तुलानामा पाँच गुणा बढी जनशक्ति उत्पादन गर्न सकिने र त्यही अनुसार सेवा निर्यात गर्न सकिने बताएका छन् । जुनसुकै फिल्डमा पनि समस्याको समाधान गर्न सक्ने क्षमता र जनशक्तिको आवश्यकता रहेको उनले औंल्याएका छन् । कक्षा कोठाको पढाइ र व्यवहारमा लागु गर्ने विषय आफैंमा फरक भएकाले त्यसको प्रयोग फिल्डमा पुगेपछि मात्र हुने बताए ।
उनले थपे, “उद्यमशीलता एक माइन्डसेट हो । उद्यमी र सर्वसाधारण मानिसबीच के भिन्नता छ भने सामान्य मानिसले समस्या देखिरहेको हुन्छ भने उद्यमीले अवसर देखिरहेको ह्ुन्छ । त्यो समस्या समाधान गर्ने प्रयास गरिरहेको हुन्छ । कुनै पनि उद्यमीले त्यसलाई कार्यान्वयन नगरेसम्म त्यो अवसर वा त्यो आइडीयाको मूल्य शून्य नै रहन्छ । शिक्षामा उद्यमशीलतालाई जोड्न आवश्यक छ र उद्यमशीलता पढेको व्यक्तिले मात्रै स्टार्टअप गर्नुपर्छ भन्ने हुँदैन ।”
उनले पनि हरेक संकायमा आईटी र स्टार्टअपको आधारभूत ज्ञान दिन आवश्यक रहेकोसमेत बताएका छन् । उनले थपे, “हाम्रो प्रतिस्पर्धी अन्य मुलुकको स्टार्टअप गरिरहेकाहरु हुनसक्छन्, त्यो ग्लोबल बजारमा प्रतिस्पर्धा गर्नसक्ने किसिमको उद्यमीहरुलाई प्रशिक्षित गर्न आवश्यक छ ।”
त्यस्तै खिम्भु टेकका सीईओ कार्भिका थापाले स्टार्टअप सुरु गर्दा आफ्नो रुचीको विषय छानेर काम गर्न सकेको अवस्थामा मात्रै सफलता हात पार्न सकिने उनले बताएकी छन् । उनले थपिन्, “सुरुमै उद्यमशील बन्ने आधारको लागि सिप विकास आवश्यक छ । जे विषयमा क्षमता छ, त्यसैका लागि प्रयत्न गनुपर्दछ ।”
तीनै तहका सरकारले जनशक्ति उत्पादनमा ध्यान दिएर लगानीको सहज वातावरण गर्न सकेको अवस्थामा आईटी क्षेत्रमा भएका सम्भावनाहरुलाई अवसरको रुपमा उपयोग गर्न सकिन्छ । उनले भनिन्, “पछिल्लो समयमा सरकारका विभिन्न निकायहरु छन् । ती निकायले स्थानीय जनशक्तिलाई मद्दत गरेर सहयोग गर्न आवश्यक छ । व्यवसाय गर्ने विषय आफैँमा चुनौती छ । समाधानका लागि सहकार्य र सहयोग आवश्यक छ ।”
प्रविधिको विकासले अहिले स्टार्टअपका लागि सहयोग पुर्यालएको भए पनि योग्य जनशशक्तिको अभाव देखिएको पनि उनले बताएकी छन् । “स्टार्टअप सुरु गर्नका लागि आफूले गरेको उद्यमका लागि सिप विकास अनिवार्य हुन्छ,” उनले थपे, “उद्यमका लागि प्रविधिको ज्ञानसँगै सिप निकै जरुरी छ । तर, हाम्रा लागि सबैभन्दा चुनौतीपूर्ण विषय भनेको समाजको ढाडस निकै राम्रो हुन्छ । हाम्रो राजनीतिक नेतृत्वले स्टार्टअपका लागि आवश्यक सहयोग गर्ने संस्कृति पनि विकास हुन सकेको छैन । जनशक्ति विकास निकै महत्वपूर्ण विषय हो ।”
नेपाली कांग्रेस केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपी नगर ललितपुरमा बुधबारदेखि सुरु भएको यस सम्मेलनले भर्खरै व्यवसाय प्रारम्भ गर्ने उद्यमी, व्यवसायीहरूलाई प्रोत्साहन गर्नुका साथै व्यवसायको प्रवद्र्धन समेत हुने उद्यमशील र साना तथा मझौला व्यवसायी विकास विभागकी संयोजक उर्मिला थपलियाको विश्वास छ ।
दोश्रो सेसन
महिला उद्यमशीलता : समतामुलक आर्थिक विकासको दिशामा
“स्टार्टअपमा आकर्षण बढाउन महिलामैत्री कानुन आवश्यक”
नेपाली कांग्रेसको मुख्यालयमा आयोजित स्टार्टअप तथा एसएमई सम्मेलनमा बोल्ने वक्ताहरुले स्टार्टअपमा महिलाको उपस्थिति बढाउन महिलामैत्री कानुन आवश्यक भएको सुझाएका छन् । सानेपास्थित कांग्रेस पार्टी कार्यालयमा उद्यमशील र साना तथा मझौला व्यवसायी विकास विभागले आयोजना गरेका सम्मेलनको दास्रो दिनको दास्रो सत्रमा बोल्ने वक्ताहरुले राज्यको विभेदपूर्ण नीति परिवर्तन गर्नुपर्ने बताएका हुन् ।
सामूहिक छलफल कार्यक्रममा बोल्दै जेसीआई नेपालकी अध्यक्ष रजनी थापाले समय अनुसार महिलाहरुले आफूलाई सक्षम बनाउँदै लैजानुपर्ने बताएकी हुन् । उनले भनिन्, “महिला उद्यमीले समय अनुसार परिस्थितिलाई सहजरुपमा सामना गर्ने क्षमता विकास गर्दै लैजानुपर्दछ ।”
आफू उद्यमी भइरहँदा कामप्रतिको इमानदारीताका साथै सक्छु भन्ने कमिटमेन्ट पनि हुनुपर्ने अध्यक्ष थापाले बताइन । उनले थपिन्, “राज्यको पोलिसी महिलाको नाममाभन्दा पनि पुरुषको नाममा धेरै छ । सम्पत्ति भएको ब्यक्तिले सहजै धितो राखेर सम्पत्ति राखेर ऋण लिन सक्छ त्यसका साथै व्यावसाय पनि गर्दछ । त्यसकारण महिलामैत्री कानुन आवश्यक छ ।”
त्यसैगरी विद्यालय शिक्षामा पनि उद्यमी बन्ने पाठ्यक्रम समावेश गर्नुपर्ने उनको राय थियो । अध्यक्ष थापाले महिलालाई उद्यमी बन्न प्रेरित गर्न राज्यले सहजीकरण गर्नुपर्ने समेत बताइन । बीआईडी नेपालका नेपालका प्रमुख यमुना श्रेष्ठले महिला उद्यमशीलताले तुलनात्मक रुपमा फड्को मारेको बताएकी छन् । उनले भनिन्, “नेपालमा उद्यम स्थापना गर्न केही अप्ठ्याराहरु भए पनि काम गर्दै जाँदा चुनौती सामाना गर्ने क्षमता पनि हुने र मिहनत गरे सफल असम्भव हुँदैन ।”
पछिल्लो समय महिला उद्यमशीलताले सहरदेखि गाउँसम्म नै आर्थिक रुपान्तरणमा योगदान गरिरहेकोसमेत उनले बताएकी छन् । उनले उद्यम गर्नका लागि उद्यम सेन्टरको पनि स्थापना हुनुपर्ने समेत बताइन् ।
उनले थपिन, “अहिले महिला उद्यमसिलताले सहरदेखि गाउँसम्म आर्थिक रुपान्तरणको योगदान गरिरहेको छ । अहिले महिला उद्यमीको सहभागीताले आफ्नो आन्तरिक खर्च धान्नका लागि केही न केही गर्दा अरुमा भर पर्नुपर्ने हुँदा सजिलो भएको छ ।”
युजी केक्सकी संस्थापक निकिता आचार्यले आफुले २०१२ मा सानो लगानीमा सुरु गरेको व्यवसायले अहिले ठूलो फड्को मारेको बताइन् । उनले थपिन्, “हामीले तालिम दिएका धेरै जना अहिले आत्मनिर्भर भएको र कयौं सफल उद्यमीको रुपमा समेत परिचित हुनुहुन्छ ।”
उनले समाजमा पुरुषको तुलनामा महिलालाई बढी नै चुनौती रहेको उल्लेख गर्दै आचार्यले भनिन्, “महिलालाई उद्यमप्रती उत्प्रेरित बनाउन राज्यले विभिन्न नीति त ल्याएको छ । तर महिलाहरु त्यसमा समावेश भएका छैनन् । महिलालाई उद्यममा सहज प्रवेशको लागि राज्यले आफ्ना कानुन र नीतिमा सुधार र परिवर्तन गर्न आवश्यक छ ।”
त्यसैगरी एनआरएनकी पूर्व अध्यक्ष रविना थापाले अर्थतन्त्र सबल बनाउन महिला उद्यमीको महत्वपूर्ण भूमिका रहने बताइन् । उनले भनिन्, “मैले नेपालको एक गाउँबाट सुमद्रपारीको सहरमा पुगेर यहाँसम्मो परिचय बनाउन थुप्रै चुनौती र कठिनाइको सामना गर्नुपरेको थियो । हामीले विदेशमा पनि नेपाली महिलाहरुलाई उद्यमशीलताका लागि प्रेरित गरेका थियौं ।”
उनले नेपालमा सहज रुपमा उद्यम गर्नका लागि राज्यले विश्वास पनि नगर्ने परिस्थिति भए पनि अहिले सहज भएको बताएकी छन् । उनले भनिन्, “उद्यम दर्तादेखि धेरै विषयमा झन्झट भएकाले त्यसका लागि सहजीकरण गर्न अवश्यक रहेको छ ।”
त्यस्तै नेपाल रिपब्लिक मिडीयाकी सईओ समृद्धी ज्ञावलीले आन्तरिक उत्पादनलाई विश्व बजारमा प्रतिस्पर्धी बनाउन समस्या रहेको बताएकी छन् । उनले अवसरको सदुपयोग गर्न सकेमा सफल उद्यमी बन्न असहज नहुने बताएकी छन् ।
यो छलफल कार्यक्रमको सहजीकरण आर्थिक पत्रकारितामा लामो समयदेखि काम गर्दै आइरहेकी आशा थपलियाले गरेकी ह्ुन् ।
तेश्रो सेसन:
मेरो उद्यमशील यात्रा:
युवा पुस्ताले पहिचानसहितको काम र परिणामसहितको कर्तव्यलाई आत्मसात गर्न सक्नुपर्दछ
नेपाली कांग्रेसको मुख्यालय सानेपामा भएको नेपाल स्टार्टअप तथा एसएमई सम्मेलनको दोस्रो सत्रको तेस्रो सत्र “मेरो उद्यमशील यात्रा” शीर्षकको सामूहिक छलफल कार्यक्रममा बोल्दै वक्ताहरुले पहिचानसहितको काम र परिणामसहितको कर्तव्यलाई आत्मसात गर्नुपर्ने बताएका छन् ।
दायित्वका संस्थाका संस्थापक अध्यक्ष पुकार मल्ल आफू पढाइको सिलसिलामा मुलुकबाहिर गएको र त्यहाँ विश्व बैंकदेखि विभिन्न क्षेत्रमा काम गर्दा देशकै लागि केही गर्नुपर्छ र आफ्नो छुट्टै पहिचान बनाउनुपर्छ भनेर स्वदेश फर्किएको अनुभव सुनाएका छन् ।
उनले भने, “पहिला बाहिर हुँदा सुखी भएको खुशी नभएको र अहिले पहिलाकभन्दा धेरै खुशी भएको तर सुखी नभएको महसुस हुन्छ । नेपालमा युवा पुस्ताले पहिचानसहितको काम र परिणामसहितको कर्तव्यलाई आत्मसात गरेर अगाडी बढनु नै आजको आवश्यकता देखिन्छ ।”
अहिले देशमा उद्यमशीलताका लागि निरन्तर काम गरिरहेको जानकारी गराउँदै भने, “शासकीय प्रणालीमा तल्लो तहको काम र अवसरमा समान पहुँच पुर्यातउनका लागि निरन्तर सकृय छु । श्रमको सम्मानसहित देशमै बसेर केही गर्न चाहने युवालाइ राज्यले सहजिकरण गर्नैपर्छ ।” उनले सिमान्तकृत समुदायलाई आर्थिक रुपमा सम्पन्न बनाउनु नै अहिलेको उद्यमशीलताको मुख्य उद्देश्य रहेकोसमेत बताएका छन् ।
गाउँपालिका राष्ट्रिय संघका अध्यक्ष लक्ष्मी पान्डेले स्टार्टअप अहिलेको महत्वपूर्ण विषय भएका उल्लेख गर्दै कांग्रेसले यसलाई अभियानकै रुपमा अगाडि बढएकोमा प्रशंसा गरेकी छन् । यस किसिमका अभियानले उद्यम गर्न चाहने युवा पुस्तालाई सेतुको रुपमा काम गर्ने र उद्यमका लागि सहजीकरणको वातावरण निर्माण हुने बताएकी छन् ।
उनले थपिन, “अहिले स्थानीय सरकारले अनुसूची ८ अनुरुप महिला उद्यमका लागि सहजीकरण गर्न ऐन संशोधनका लागि प्रयत्नरत छौँ । अहिले स्थानीय सरकारले जनतासँग सहजै जोडिनका लागि प्रयत्नशील छौं । स्थानिय सरकारले दिएको अधिकारलाई भरपुर रुपमा प्रयोग गर्नको पनि आह्वान गर्दछु ।”
ई–गर्भनेन्स बोर्डका सीईओ दिपेश विष्टले अन्य देशमा कम्पनी दर्ता गर्न प्रतिस्पर्धा हुने तर नेपालमा त्यसका लागि अति नै झन्झटिलो प्रकृया भएको कारण कानुनी सहजताका लागि राज्यले पहल गर्ने बताएका छन् । कानुनी सहजताले मात्रै नपुग्नै बताउँदै उनले भने, “कानुनी सहजता मात्रै भएर पुग्दैन । हामीले आईटी जानेको दक्ष जनशक्ति पनि तयार गर्नुपर्ने छ ।”
उनले आईटी फिल्डमा कति कमाउन सकिन्छ भनेर तथ्यांक प्रस्तुत गर्दै भने, “काठमाडौंमा आईटी अफिसरको औसत तलब मासिक ४० हजार रुपैयाँको हाराहारीमा छ र आईटी परियोजना प्रबन्धकको तलब प्रति महिना ५० हजारदेखि एक लाखसम्म रहेको छ । अर्कोतिर सफ्टवेयर विकासकर्तामा मध्य–स्तर सफ्टवेयर विकासकर्ताहरूले प्रति महिना ५० हजारदेखि ८० हजारको बीचमा कमाउने गरेको पाइन्छ । सफ्टवेयर इन्जिनियर, वरिष्ठ सफ्टवेयर इन्जिनियरहरूले प्रति महिना एक लाख २० हजारदेखि एक लाख ८० हजार वा सोभन्दा बढी पनि कमाउने गरेको पाइन्छ ।”
उनले अहिले डाटा महत्वपूर्ण भएकाले संरक्षणका लागि सरकारले नीति पनि बनाउँदै गरेको जानकारी दिए । नयाँ युवालाई व्यवसायमा संलग्न गराउने सवालमा उनले आइटी नै पढनुपर्छ भन्ने नभएको बताए । लगानी गरेर आईटी फिल्डका युवालाइ रोजगारी दिन सकिनेसमेत उनले बताए । उनले नेपालमा आगामी पाँच वर्षमा आईटी क्षेत्र र उद्यममा ठूलो आर्थिक रुपान्तरण हुने विश्वास व्यक्त गरेका छन् ।”
त्यस्तै रानीमहल रिसोर्टका सञ्चालक टंकनाथ घिमिरेले वैदेशिक यात्रा त्यागेर नेपालमै बसेर व्यवसाय गर्नुपर्छ भन्ने सोच आएर आफू स्वदेश फर्किएको अनुभव जानकारी गराएका छन् । उनले भने, “विदेशबाट नेपाल फर्किँदा गाउँमा कोहिपनी युवा नरहेको र अब आफू पनि देशमै बसेर युवावर्गलाई देशमै बस्नपर्छ भन्ने प्रेरणा दिनको लागि प्रयत्न गरिरहेको छ ।”
उनले व्यवसायमा चुनौती रहेका उल्लेख गर्दै आफ्नो अनुभव बाँडे, “मैले १० हजारबाट सुरु भएको उद्यम–व्यवसायको यात्रालाई अहिले चार करोडभन्दा बढीको बनाउन सफल भएको छु । कामको लागि गरिने मेहनत, कमिटमेन्ट भएमा सम्भावना रहेछ भन्ने उदाहरण म नै हो । योजना सहित काम गर्दा नै म सफल भएँ ।”
सञ्चारिका समूहकी अध्यक्ष बिमला तुम्खेवाले आफू हिमाली जिल्लामा जन्मेर विविध चुनौतीको सामना गरेर व्यवसाय गरेर अगाडी बढेको बताएकी छन् । उनले भनिन्, “मुस्ताङ जिल्लाजस्तो पर्यटन क्षेत्र भएको ठाउँमा स्याउको सुकुटी, ड्राइ एप्पल, होटल सञ्चालन गरेर सफलताको यात्रामा अगाडि बढेको हो । २०७० सालमा उद्योग दर्ता गरेर भौतिक संरचना बनाउँदा पैसा नभएको र आँट गरेर अगाडि बढ्यो भने सम्भावनालाई सजिलै क्यास गर्न सकिने उनले जानकारी दिएका छन् ।
तीन तहको सरकारको कारण एउटै निकायलाइ सहजै रुपमा अधिकार नदिएको कारण उद्योगी व्यावसायी प्रताडीत भएकोसमेत उनले बताएकी छन् ।
प्रदेश र स्थानीयस्तरमा स्टार्टअप सम्मेलन गर्छौ:थपलिया
नेपाली कांग्रेसको उद्यमशील र साना तथा मझौला व्यवसायी विकास विभागले आयोजना गरेको दुई दिने नेपाल स्टार्टअप र एसएमई सम्मेलन बिहीबार सम्पन्न भएको छ ।
पार्टी मुख्यालय सानेपामा बुधबार पार्टी सभापति शेरबहादुर देउवाले उृद्घाटन गरेर सुरु भएको सम्मेलन बिहीबार बेलुका विभागकी संयोजक उर्मिला थपलियाले सम्पन्न भएको घोषणा गरेकी हुन् ।
सम्मेलन समापन कार्यक्रममा बोल्दै कांग्रेस केन्द्रीय सदस्यसमेत रहेकी विभागकी संयोजक थपलियाले कार्यक्रम सम्पन्न गराउन सहयोग गर्ने सम्पूर्णमा धन्यवाद व्यक्त गरेकी छन् । समापन कार्यक्रममा बोल्दै उनले भनिन्, “हामीले यस सम्मेलन र स्टल राखेर सहभागिता जनाउनुभएका सम्पूर्णलाई फारम भराएर समस्या टिपोट गर्न लगाएका छौं । त्यसलाई समाधान गर्नका लागि हामीले पार्टी नेतृत्व र सरकारसँग पहल गर्नेछौं । हामीले उद्यमी र राज्यबीच पुलको काम गरेका छौं । यो कार्यक्रमलाई सफलरुपमा सम्पन्न गराउन सहयोग गर्नुहुने सम्पूर्णमा धन्यवाद ।”
उनले युवा पुस्तालाई स्वदेशमा राख्नका लागि साना तथा मझौला उद्योगलाई अगाडि बढाउनुपर्ने बताएकी छन्् । उनले यस्तो सम्मेलनलाई आगामी दिनमा प्रदेश र स्थानीय तहसम्म पनि आयोजना गर्ने र देशभरका उद्यमीहरुलाई जोड्ने काममा लाग्ने प्रतिबद्धतासमेत व्यक्त गरेकी छन् । उनले भनिन्, “हामीले आयोजना गरेको यो सम्मेलनले केही उद्यमीहरु जोडिनु भएको छ ।
आगामी दिनमा प्रदेश र स्थानीय तहसम्म यस्ता सम्मेलनहरु गरेर देशभरका उद्यमीहरुको नेटवर्क बनाउन, समस्या पहिचान गर्ने र समाधानका लागि राज्यलाई झक्झकाउने काममा हामी निरन्तर लागिरहने प्रतिबद्धतासमेत व्यक्त गर्दछौं ।”
संयोजक थपलियाले सम्मेलनलाई सफल बनाउनका लागि सहभागी हुन आएका सम्पूर्ण विदेशी नियोगका कूटनीतिज्ञ, नेपाल सरकारका मन्त्री तथा प्रतिनिधिहरु, पार्टीका नेता तथा पदाधिकारीलगायत सम्पूर्णले सम्मेलन र स्टल अवलोक गर्दै उद्यमीका समस्या सुनिदिएकामासमेत कृतज्ञता व्यक्त गरेकी छन् ।
दुई दिनसम्म चलेको सम्मेलनमा विभिन्न शीर्षकमा छ वटा छलफल कार्यक्रम गरिएको थियो । जसमा करिब ३० जनाभन्दा बढीले आ–आफ्नो राय व्यक्त गर्दै उद्यमशीलतालाई प्रबद्र्धन गर्नुपर्नेमा जोड दिएका थिए । संयोजक थपलियाले सम्मेलन अवधिभर पार्टी कार्यालयको परिसरमा विभिन्न हस्तकला, कृषि उत्पादनलगायतका सामग्रीको स्टल सञ्चालन गरेकाहरुलाई स्टलमा नै पुगेर कदरपत्र हस्तान्तरण गरेकी हुन् ।