
युरोप ।
नेपाली खानालाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने उद्देश्यले माल्टाबाट तयार पारिएको पहिलो मौलिक गीत ‘नेपाली खाना मिठो’ को भिडियो सार्वजनिक गरिएको छ। अन्तर्राष्ट्रिय सेफ सोसाइटी माल्टाको निर्माणमा बनेको उक्त भिडियो जेठ ५ गते (मे १९) मा माल्टामा आयोजित विशेष सांस्कृतिक समारोहबीच सार्वजनिक गरिएको हो।
उक्त भिडियो सार्वजनिक कार्यक्रममा प्रमुख अतिथि एनआरएनए युरोप क्षेत्रीय सचिव तथा एनआरएनए माल्टाका पूर्वअध्यक्ष भुवन अर्याल थिए। समारोहको अध्यक्षता संस्थाका अध्यक्ष बासुदेव भुसालले गरेका थिए। अतिथिहरूले गीतमार्फत नेपाली खानाको मौलिकता र स्वादलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन गरिएको प्रयासको खुलेर प्रशंसा गरे। अर्यालले छोटो समयमै संस्था माल्टाका नेपाली सेफहरूलाई एकजुट गर्दै सामाजिक एवं सांस्कृतिक अभियानमा अग्रसर भएकोमा प्रशंसा गरे।
एनआरएनए माल्टाका उपाध्यक्ष सत्य नारायण झा ले ‘सेफहरूको सेतो पोशाकजस्तै मन पनि सेतो र सेवा भावले भरिएको’ भन्दै संस्थाको व्यवस्थित सञ्चालनको प्रशंसा गरे। जनसम्पर्क समिति माल्टाका सभापति हरि बिसीले गीतले नेपाली खानाको प्रचारप्रसारमा ऐतिहासिक योगदान पुर्याउने विश्वास व्यक्त गर्दै सबै नेपाली एकजुट हुनुपर्नेमा जोड दिए।
कार्यक्रममा प्रवासी नेपाली मञ्च माल्टाका महासचिव हेमराज भण्डारी, व्यवसायी तथा एनआरएनए माल्टाका पूर्व महासचिव रोशन गिरी, नेपाली समाज माल्टाका अध्यक्ष ज्ञानु लामा, गुल्मेली समाजका अध्यक्ष अशोक गिरी, झापाली समाजका ऋषिराम काफ्ले, एनएफसी फुटबल क्लब, तमु समाज लगायत विभिन्न संघसंस्थाको उल्लेखनीय उपस्थिति थियो।
गीतमा खेम सेन्चुरी र दीपिका बयम्बु मगरको स्वर रहेको छ। यमप्रसाद न्युरेको शब्द, खेम सेन्चुरीको संगीत, विनोद बाजुरेलीको एरेन्जमेन्ट तथा राजेन्द्र बाजुरेलीको भोकल समेटिएको गीत माला श्री स्टुडियो, काठमाडौंमा रेकर्ड गरिएको हो। छायांकन सागर श्रेष्ठ र किरण बुढाथोकीले गरेका हुन् भने निर्देशन संस्था स्वयंले गरेको हो।
गीतमा माल्टामा बसोबास गर्ने नेपाली सेफ तथा कलाकारहरूको कलात्मक अभिनय समावेश छ। कार्यक्रममा राष्ट्रप्रति सम्मान स्वरूप राष्ट्रिय गान गाइएको थियो भने स्वर्गीय सेफ तथा राष्ट्रिय परिवर्तनका शहीदहरूलाई मौनधारण गरी श्रद्धाञ्जली अर्पण गरिएको थियो। अतिथिहरूलाई खादा ओढाएर सम्मान गरिएको थियो भने सहभागीहरूलाई मायाको चिनो प्रदान गरिएको थियो।
कार्यक्रम सञ्चालन पत्रकार तथा संस्थाका वरिष्ठ सल्लाहकार धनराज अविरलले गरेका थिए, जसको सशक्त प्रस्तुति सहभागीहरूद्वारा निकै प्रशंसित रह्यो।
अन्तर्राष्ट्रिय सेफ सोसाइटी माल्टा माल्टाको कानुनी प्रक्रिया पूरा गरी विधिवत दर्ता भई विदेशमा आधिकारिक रूपमा स्थापना भएको पहिलो नेपाली सेफ संस्था बनेको छ। नेपाली खानाको स्वाद र पहिचानलाई संसारभर फैलाउने यात्रामा यो संस्था एउटा सशक्त कदमका रूपमा देखिएको छ।