
काठमाडौं । नेपाल टेलिकमले जीएसएम पोस्टपेडमा रिकरिङ सजिलो अनलिमिटेड प्याकेज सञ्चालन गरेको छ । कम्पनीले ग्राहकहरुको माग अनुसार जीएसएम पोस्टपेडमा रिकरिङ सजिलो अनलिमिटेड प्याकेज सञ्चालनमा ल्याएको जानकारी दिएको छ ।
कम्पनीका अनुसार शुक्रबारबाट लागू हुनेगरी यो प्याकेज सञ्चालनमा ल्याइएको हो । प्याकेजको समयावधि समाप्त भएपछि पनि स्वचालितरुपमा पुनः प्याकेज खरिद हुनेगरी रिन्युअल प्याकेजहरु सञ्चालनमा ल्याएको कम्पनीले जनाएको छ । साबिकका सजिलो अनलिमिटेड ६९९, ७९९, ९९९, १४९९ र एक्जेक्युटिभ प्याकलाई मुख्य अफरको रुपमा लिएर पहिलोपटक प्याकेज खरिद गर्दा अंग्रेजी महिनाको १५ तारिखलाई आधार मानेर प्रो–रेटको आधारमा रकम काटिने र सोपछि प्रत्येक अंग्रेजी महिनाको १५ तारिखमा स्वतः सोही प्याकेज रिन्यु हुने व्यवस्था लागू गरिएको छ । अंग्रेजी महिनाको १५ तारिखमा बिलको हिसाब हुँदा प्याकेजको शुल्कभन्दा उपलब्ध क्रेडिट लिमिट पर्याप्त नभएमा सेवा अवरुद्ध हुन जाने र भुक्तानीपश्चात् मात्र सेवा सुचारु हुने कम्पनीले जनाएको छ । यस्ता प्याकेज खरिद गर्ने ग्राहकले उल्लिखित डाटा र एसएमएसले नपुग भएमा सोका लागि अन्य प्याकेज खरिद गर्न सक्नेछन् ।
ग्राहकले बढी वा कम रिसोर्सेजसहितका अन्य रिकरिङ प्याकेज खरिद गर्न चाहेमा वा साबिकका नर्मल एसएमएस र डाटा प्याकेज प्रयोग गर्न खोजेमा सो पनि खरिद गर्न सकिनेछ । एउटा रिकरिङ प्याकेज चलिरहेको अवस्थामा अन्य रिकरिङ प्याकेज खरिद गरेमा उक्त प्याकेज पेन्डिङ अवस्थामा रहने र पेन्डिङ प्याकेज लगत्तै आउने अंग्रेजी महिनाको १५ तारिखमा मात्र एक्टिभ हुने कम्पनीले जनाएको छ । अन्य नर्मल प्याकेज लिएको हकमा भने भ्यालिडिटी कम रहेको प्याकेजको रिसोर्सेज पहिले प्रयोग हुनेछ । सेवा निस्क्रिय गर्न चाहने ग्राहकले जीएसएम पोस्टपेड अफर सस्क्राइब गरी रिकरिङ सेवा बन्द गर्न सक्नेछन् । रिकरिङ सजिलो अनलिमिटेड प्याकेज सुचारु गर्न स्टार१४१५स्टार२स्टार४ह्याक्स डायल गरी छनौट गर्नुपर्नेछ ।