काठमाडौं । गणपति सिमेन्ट इन्डस्ट्रीज प्रालिले आफ्नो उद्योगलाई पूर्णरूपमा सञ्चालनमा ल्याउने तयारी तीव्र पारेको छ । कपिलवस्तुको शिवराज–६ मा रहेको यस उद्योगमा नयाँ लगानीकर्ता समूहको प्रवेशसँगै पुनर्सञ्चालनको तयारीलाई गति दिइएको हो ।

कम्पनीका अध्यक्ष अर्जुन चौलागाईंकै नेतृत्वमा नयाँ लगानीकर्ता समूह उद्योगलाई पुनर्जीवित गर्ने अभियानमा जुटेको जनाइएको छ । अध्यक्ष चौलागाईंसँगै अमेरिकामा विगत १५ वर्षदेखि निर्माण तथा विभिन्न व्यवसायमा संलग्न रहेका एनआरएन विषम पाण्डे र नेपालमा विभिन्न पेसा तथा व्यवसायमा सक्रिय शालिक पाठकले उद्योगमा लगानी गरेका छन् ।

विगत केही वर्षदेखि सीमित क्षमतामा सञ्चालनमा रहेको गणपति सिमेन्टलाई अब पूर्ण क्षमतामा चलाउने लक्ष्यसहित कार्ययोजना अगाडि बढाइएको कम्पनीका अध्यक्ष चौलागाईंले बताउनुभयो । उहाँका अनुसार कम्पनीले निकट भविष्यमै ‘विनायक’ र ‘गणपति’ लगायतका नयाँ सिमेन्ट ब्रान्डहरू उत्पादन गरी नेपालका प्रमुख सहरहरूमा बजार विस्तार गर्ने तयारी गरिरहेको छ ।

अध्यक्ष चौलागाईंले भन्नुभयो, ‘नेपालमा निर्माण र पूर्वाधार विकासका क्षेत्रमा चुनौतीहरू भए पनि हामीले गणपति सिमेन्टलाई पुनः सञ्चालनमा ल्याएर देशको निर्माण क्षेत्रमा योगदान पुर्‍याउने दृढ संकल्प लिएका छौँ । नयाँ लगानीकर्ता समूहको प्रवेशपछि कम्पनीले गुणस्तरीय उत्पादन, स्थायी रोजगारी सिर्जना र देशको निर्माण क्षेत्रको माग पूरा गर्न निरन्तर काम गर्नेछ ।’

उद्योगको पुनः सञ्चालनबाट कपिलवस्तु र आसपासका क्षेत्रमा रोजगारीका अवसरहरू सिर्जना हुने, स्थानीय उत्पादनले प्रोत्साहन पाउने र देशको निर्माण उद्योगमा स्वदेशी ब्रान्डको योगदान थप बलियो हुने कम्पनीको विश्वास छ । कम्पनीले भविष्यमा उत्पादन क्षमता विस्तार, गुणस्तर सुधार र दिगो बजार सञ्जाल निर्माणलाई प्राथमिकता दिने योजना सार्वजनिक गरेको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय