
काठमाडौं । हालैको जेन–जी आन्दोलनका कारण बीमा कम्पनीहरूको भुक्तानी दायित्व उल्लेख्य रूपमा बढेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार आन्दोलनका क्रममा भएको भौतिक तथा अन्य क्षतिको बीमा दाबी रकम करिब २३ अर्ब २२ करोड ८७ लाख रुपैयाँ पुगेको छ ।
देशभरका १४ निर्जीवन बीमा कम्पनी र चार लघु निर्जीवन बीमा कम्पनीमा जम्मा तीन हजार ९९ वटा बीमा दाबी परेको प्राधिकरणले जनाएको छ । तीमध्ये हालसम्म करिब एक अर्ब ५८ करोड ५६ लाख रुपैयाँ बीमितहरूलाई भुक्तानी भइसकेको छ ।
प्राधिकरणका अनुसार २ हजार ७१० वटा दाबीको मूल्यांकनका लागि सर्भेयर खटाइएको छ । तीमध्ये हालसम्म ३७४ वटा सर्भे प्रतिवेदन बुझाइएको छ ।
बीमा दाबीमध्ये सबैभन्दा धेरै सम्पत्ति बीमातर्फ ६५३ दाबी परेको र करिब १९ अर्ब ६ करोड ७६ लाख रुपैयाँको दाबी रकम दर्ता भएको छ । यसमध्ये बीमकहरूले करिब एक अर्ब ३२ करोड ७२ लाख रुपैयाँ भुक्तानी गरिसकेका छन् ।
मोटर बीमातर्फ २ हजार २०६ वटा दाबी परेको र तीन अर्ब ४१ करोड ६ लाख रुपैयाँको दाबी दर्ता भएको प्राधिकरणले जनाएको छ । मोटर बीमामा करिब २४ करोड ९१ लाख रुपैयाँ भुक्तानी भइसकेको छ ।
इन्जिनियरिङ तथा ठेक्का जोखिम बीमातर्फ १९० वटा दाबी परेको र ३८ करोड ३ लाख रुपैयाँको दाबी रकम रहेको छ । यसमध्ये हालसम्म ८७ लाख रुपैयाँ भुक्तानी गरिएको छ ।
त्यसैगरी, परिवहन बीमातर्फ १२ वटा दाबी परेको र एक करोड ६३ लाख रुपैयाँ बराबरको दाबी दर्ता भएको छ भने अन्य बीमातर्फ ३८ वटा दाबी परी ३५ करोड ३७ लाख रुपैयाँको दाबी रकम रहेको प्राधिकरणले जनाएको छ ।
नेपाल बीमा प्राधिकरणले आन्दोलनका क्रममा भएका क्षतिको मूल्यांकन र अनुगमन तीव्र रूपमा भइरहेको जनाएको छ ।