
काठमाण्डौ । नेपालले आगामी वर्ष हुने टी–२० विश्वकपमा स्थान सुनिश्चित गरेको छ। कप्तान रोहितकुमार पौडेलले फेसबुकमा लेख्दै यो सपनाको अन्त्य नभई शुरूवात भएको प्रतिक्रिया दिएका छन्।
एशिया तथा पूर्वी एशिया प्यासिफिक छनोटमा नेपाल र ओमानले विश्वकप यात्रा पक्का गरेका हुन्। यूएईले सामोआलाई हराएसँगै नेपाल दुई खेलअघि नै छनोट भएको हो। विश्वकपमा २० टोली खेल्ने छन्।
नेपाल लगातार दोस्रोपटक र समग्रमा तेस्रोपटक टी–२० विश्वकप खेल्न लागेको हो। यसअघि नेपाल सन् २०१४ र २०२४ मा सहभागी भएको थियो।
गएराति नेपालले ओमानलाई ३८ रनले हराउँदै अपराजित यात्रा कायम राखेको छ र अब अन्तिम खेलमा सामोआसँग भिड्नेछ। भोलिको खेल जिते नेपालले ट्रफी पनि हात पार्नेछ।