काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) ले धितोपत्र बोर्डले २८ महिनादेखि जलविद्युत कम्पनीहरुको आईपीओ र राइट सेयर निष्काशनमा ढिलाइ गर्दै आएको भन्दै कडा आपत्ति जनाएको छ ।

काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा इप्पानले समयमै सेयर निष्काशन नगर्दा निजी लगानीकर्तालाई निरुत्साहित पार्नुका साथै देशको ऊर्जा विकासमा ठुलो अवरोध उत्पन्न भएको बताएको छ ।

इप्पानका अध्यक्ष गणेश कार्कीले बोर्डको ढिलाइका कारण ५० वटा जलविद्युत कम्पनीको सेयर जारी हुन नसकेको र त्यसबाट करिब १ खर्ब ८ अर्ब रुपैयाँ बराबरको क्षति भएको दाबी गरे । “समयमै सेयर जारी नभएकै कारण ब्याज र लागत दुवै बढेका छन्,” कार्कीले बताए ।

संस्थाले हाल विद्युत उत्पादन क्षमता ३ हजार ७ सय मेगावाट पुगेको र त्यसमा निजी क्षेत्रको योगदान ३ हजार मेगावाटभन्दा बढी रहेको जनाएको छ । निजी क्षेत्रका आयोजनामा हालसम्म १५ खर्ब रुपैयाँ लगानी भइसकेको र आगामी दस वर्षमा थप ३० खर्ब लगानी गर्ने योजना रहेको इप्पानले जनाएको छ ।

तर, आईपीओ निष्काशन ढिलाइ र ‘रियल नेटवर्थ’ जस्ता आधारहीन मापदण्ड देखाएर कम्पनीहरूलाई आवेदनबाट हटाउने कार्यले ऊर्जा क्षेत्रमा अनावश्यक संकट निम्त्याएको भन्दै इप्पानले धितोपत्र बोर्डलाई आलोचना गरेको छ ।

इप्पानले भोटेकोशी लगायतका जलविद्युत आयोजनामा स्थानीयले निःशुल्क सेयर माग्दै उत्पादन बन्द गराएका घटनालाई पनि गम्भीर बताउँदै यस्तो गैरकानूनी मागलाई रोक्न सरकारसँग आग्रह गरेको छ ।

संस्थाले सरकार र धितोपत्र बोर्डले आफ्ना माग तुरुन्त सम्बोधन नगरेमा आन्दोलनमा जाने चेतावनी पनि दिएको छ ।

इप्पानले प्रधानमन्त्री, अर्थमन्त्री, ऊर्जामन्त्री र धितोपत्र बोर्डका अध्यक्षलाई ध्यानाकर्षण गराउने, आवश्यक कानुनी कदम चाल्ने र अन्ततः आन्दोलनका कार्यक्रम अघि सार्ने जनाएको छ ।

साथै, इप्पानले ऊर्जा आयोजनाहरूको सुरक्षा सुनिश्चित गर्न विशेष सुरक्षा नीति र दस्ता गठन गर्न सरकारलाई आग्रह गरेको छ ।

अन्त्यमा इप्पानले ऊर्जा विकासमार्फत समृद्ध नेपाल निर्माणमा निजी क्षेत्रको लगानीलाई सहज बनाउने वातावरण तत्काल तयार गर्न सरकारसँग माग गरेको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय