
काठमाडौँ । गुगलको मातृ कम्पनी अल्फाबेटले दक्षिणी भारतको आन्ध्र प्रदेश राज्यमा १५ अर्ब अमेरिकी डलर लगानी गरेर एआई डाटा हब निर्माण गर्ने भएको छ ।
बन्दरगाह शहर विशाखापटनममा निर्माण हुने यो सुविधा १२ देशमा फैलिएका गुगलका एआई केन्द्रहरूको विश्वव्यापी नेटवर्कको हिस्सा हुने बीबीसीले जनाएको छ ।
गुगल क्लाउडका प्रमुख कार्यकारी अधिकृत थोमस कुरियनका अनुसार यो अमेरिकाबाहिरको सबैभन्दा ठूलो एआई हब हुनेछ र कम्पनीले आगामी ५ वर्षभित्रै लगानी पूरा गर्ने योजना बनाएको छ ।
भारत पछिल्ला वर्षहरूमा एआई र क्लाउड प्रविधिको केन्द्रका रूपमा उदाएको छ । सस्तो डाटा लागत र तीव्र गतिमा बढ्दो इन्टरनेट प्रयोगकर्ताले भारतलाई विश्वका ठूला टेक कम्पनीहरूको आकर्षण केन्द्र बनाएको बताइएको छ ।
ब्लूमबर्गका अनुसार यो परियोजना आन्ध्र प्रदेश सरकारले सन् २०२९ सम्ममा ६ गिगावाट क्षमताको डाटा सेन्टर विकास गर्ने योजनाको हिस्सा हो ।