
काठमाडौँ । गएको आर्थिक वर्ष २०८१/८२ मा नेपालको आर्थिक वृद्धिदर ४ दशमलव ६१ प्रतिशत पुगेको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको वार्षिक प्रतिवेदन अनुसार सो अवधिमा नेपालको अर्थतन्त्रको कुल आकार ६१ खर्ब ७ अर्ब २२ करोड रुपैयाँ बराबर भएको छ ।
मन्त्रालयका अनुसार सो वर्षमा कुल १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो, जसमा १५ खर्ब १२ अर्ब ९८ करोड रुपैयाँ अर्थात् ८१ दशमलव ३३ प्रतिशत खर्च भएको छ ।
चालू खर्चतर्फ ११ खर्ब ४० अर्ब ६७ करोडमध्ये ९ खर्ब ५६ अर्ब ३६ करोड रुपैयाँ अर्थात् ८३ दशमलव ८४ प्रतिशत खर्च भएको छ । पूँजीगत खर्चतर्फ ३ खर्ब ५२ अर्ब ३५ करोड विनियोजनमा २ खर्ब २३ अर्ब ९४ करोड अर्थात् ६३ दशमलव ५६ प्रतिशत खर्च भएको प्रतिवेदनमा उल्लेख छ । त्यसैगरी, वित्तीय व्यवस्थातर्फ ३ खर्ब ६७ अर्ब २८ करोड विनियोजनमा ३ खर्ब ३२ अर्ब ६७ करोड अर्थात् ९० दशमलव ५८ प्रतिशत खर्च भएको छ ।
राजस्व संकलनतर्फ, सो आर्थिक वर्षमा कुल ११ खर्ब ९६ अर्ब १८ करोड ९८ लाख रुपैयाँ राजस्व संकलन भएको मन्त्रालयले जनाएको छ । यसमध्ये कर राजस्व १० खर्ब ४९ अर्ब ८७ करोड ५४ लाख, गैरकर राजस्व १ खर्ब २८ अर्ब ९४ करोड ४८ लाख र अन्य प्राप्ति १७ अर्ब ३६ करोड ९६ लाख रुपैयाँ रहेको छ । यो बजेट लक्ष्यको ८४ दशमलव २८ प्रतिशत मात्र हो ।
त्यस्तै, सो वर्षमा नेपालले २३ अर्ब ५३ करोड अनुदान र १ खर्ब २५ अर्ब ४० करोड ऋणसहित १ खर्ब ४८ अर्ब ९३ करोड रुपैयाँ वैदेशिक सहायता प्राप्त गरेको छ ।
घाटा बजेट पूर्तिका लागि सरकारले ३ खर्ब २९ अर्ब ९९ करोड आन्तरिक ऋण र १ खर्ब २५ अर्ब ४० करोड बाह्य ऋणसहित कुल ४ खर्ब ५५ अर्ब ३९ करोड रुपैयाँ बराबरको सार्वजनिक ऋण परिचालन गरेको प्रतिवेदनमा उल्लेख छ ।