
काठमाडौं । असोज २७ गते नेपाली चलचित्र क्षेत्रको “कालो दिन” का रूपमा चिनिन्छ। यही दिन चर्चित नायिका श्रीषा कार्कीले आत्महत्या गरेकी थिइन्। उनको आत्महत्याको कारण जनआस्था साप्ताहिकले २०५९ असोज २३ गते प्रकाशित गरेको “फिल्म नगरीको रंगीन रात” शीर्षकको समाचार र नग्न तस्बिर भएको बताइन्छ।
पत्रिकामा प्रमाणबिनाको आरोपसहित श्रीषालगायत अन्य नायिकामाथि चरित्रहत्या गरिएको थियो। उक्त समाचारले श्रीषाको करियर, सम्बन्ध र जीवन नै बर्बाद गरिदियो। तस्बिर सार्वजनिक भएको चार दिनपछि, असोज २७ गते, उनले आत्महत्या गरिन्।
श्रीषाको परिवारका अनुसार, उक्त तस्बिर जबर्जस्ती खिचिएको थियो र पत्रिकामा छापिनुअघि डेढ वर्षसम्म उनीलाई ब्ल्याकमेल गरिएको थियो। तर, जनआस्थाका सम्पादक किशोर श्रेष्ठ र फोटो पत्रकार उद्धव भण्डारीको राजनीतिक पहुँचका कारण उनीहरूविरुद्ध ठोस कारबाही हुन सकेन।
श्रीषाको मृत्युपछि माइतीघर मण्डलामा आन्दोलन भयो, तर न्याय आजसम्म भेटिएन।
पत्रकारिताको नाममा भएको यो घटनाले नेपाली फिल्म र पत्रकारिता दुवै क्षेत्रमा गहिरो दाग लगाएको मानिन्छ।
श्रीषा कार्कीको आत्महत्याले जनआस्थाको “खोजपत्रकारिता” नाममा भएको अमानवीय व्यवहार र पत्रकारी नैतिकताको पतन उजागर गरेको थियो।