
काठमाडौं । नर्सरी व्यवसायी संघ नेपालले यस वर्ष पनि ुतिहार फ्लोरा एक्स्पो–२०८२ु आयोजना गर्ने भएको छ । तिहारको उत्सव, फुलको महोत्सवु भन्ने नाराका साथ आयोजना हुन लागेको यो एक्स्पो तिहारलाई लक्षित गरी फूल, बोटबिरुवा तथा नर्सरी व्यवसायको प्रवर्द्धन गर्ने उद्देश्यले गर्न लागिएको संघले जनाएको छ ।
एक्स्पो यही असोज २८ गतेदेखि कात्तिक १ गतेसम्म सञ्चालन हुनेछ । संघका उपाध्यक्ष तथा मेला संयोजक लक्ष्मी महर्जनले गत वर्षको तुलनामा यस वर्ष अझ व्यापक सहभागिता बढाउने गरी प्रचारप्रसार भइरहेको बताए ।
संयोजक महर्जनका अनुसार नर्सरी व्यवसायको विकास, विस्तार र प्रवर्द्धनसहित स्वच्छ वातावरणीय आम्दानी तथा रोजगारी सिर्जना गर्नु यस एक्स्पोको प्रमुख उद्देश्य हो । उनले भने, ूवनस्पति र बोटबिरुवाको संरक्षण, पुनःरोपण र दिगो उपयोगका माध्यमबाट मानव र वातावरणबीचको सन्तुलन कायम गर्न नर्सरी व्यवसायीको भूमिका महत्वपूर्ण हुन्छ । यसका लागि सरकारी तथा गैरसरकारी निकायबीच सहकार्य आवश्यक छ ।ू
महर्जनले नर्सरी व्यापारिक गतिविधि मात्र नभई मानव सभ्यताको संरक्षणसँग पनि सम्बन्धित विषय भएको स्पष्ट पार्नुभयो । वनजङ्गल र जैविक विविधता जोगाउन, हरियाली बढाउन र जलवायु सन्तुलनमा योगदान पुर्याउन नर्सरी व्यवसायीको योगदान रहेको उनको भनाइ छ ।
संघले नर्सरी व्यवसायलाई व्यवस्थित बनाउन राष्ट्रिय नीति, कानुनी व्यवस्था र अन्तर्राष्ट्रिय व्यापार मापदण्डअनुसार अघि बढाउनुपर्नेमा जोड दिएको छ । साथै, गुणस्तरीय बीउ, बिरुवा, वनस्पति संरक्षण र अनुसन्धानमा लगानी बढाउनुपर्ने आवश्यकता पनि औंल्याएको छ ।
यसैबीच, संघले हालको राजनीतिक अनिश्चितता र अस्थिरताले व्यवसायी समुदायमा मनोबल कमजोर बनाएको भए पनि यस्तो परिस्थितिमा सबै पक्षले व्यावसायिक वातावरण निर्माणमा सहयोग गर्नुपर्नेमा जोड दिएको छ । संयोजक महर्जनले देशमा बढ्दो राजनीतिक अस्थिरताका कारण सिर्जिएको मनोवैज्ञानिक दबाबलाई कम गर्न व्यवसायीबीच सहकार्य र आत्मविश्वास बढाउनु जरुरी रहेको बताए ।