
वीरगञ्ज । सरकारले महिला उद्यमीको नाममा घरेलु तथा साना उद्योग दर्ता गर्दा ३५ प्रतिशत छुट दिने नीति लागू गरेसँगै महिलाहरू उद्यमशीलतातर्फ आकर्षित भइरहेका छन् । घरेलु तथा साना उद्योग कार्यालय वीरगञ्जका अनुसार गत आर्थिक वर्षमा दर्ता भएका ९६३ नयाँ उद्योगमध्ये ३६३ महिला उद्यमीको स्वामित्वमा रहेका छन् ।
कार्यालयका प्रमुख पवन पञ्जीयारका अनुसार विगतको तुलनामा महिलाले आफ्नै नाममा उद्योग दर्ता गर्ने र सञ्चालन गर्ने प्रवृत्ति बढेको छ । गत वर्ष पर्सामा दर्ता भएका उद्योगहरूले १,७३७ पुरुष र १,१६१ महिलालाई रोजगारी सिर्जना गरेका छन् ।