
काठमाडौँ । ताप्लेजुङमा निर्माणाधीन १२८ मेगावाट क्षमताको तमोर–मेवा जलविद्युत आयोजनाले वित्तीय व्यवस्थापन (Financial Closure) सम्पन्न गरेको छ।
स्पार्क हाइड्रोइलेक्ट्रिक कम्पनी लिमिटेडद्वारा प्रवर्द्धित यस आयोजनाको वित्तीय व्यवस्थापन सम्झौता हालै सिद्धार्थ बैंकको केन्द्रीय कार्यालयमा सम्पन्न भएको हो।
आयोजनाको कुल लागत २३ अर्ब ४ करोड रुपैयाँ अनुमान गरिएको छ, जसमध्ये ७५ प्रतिशत अर्थात् दीर्घकालीन ऋण बैंक तथा वित्तीय संस्थाबाट जुटाइनेछ र बाँकी २५ प्रतिशत स्वपूँजी प्रवर्द्धकहरूले लगानी गर्नेछन्।
सिद्धार्थ बैंक लिमिटेड यसको लिड बैंक र माछापुच्छ्रे बैंक लिमिटेड को-लिड बैंक रहेका छन्। यस सहवित्तीयकरणमा कृषि विकास बैंक, नेपाल एसबीआई बैंक, ज्योति विकास बैंक लगायतका अन्य वित्तीय संस्था पनि सहभागी छन्।
कम्पनीका अनुसार, आयोजनाको करिब २५ प्रतिशत भौतिक प्रगति भइसकेको छ। यसलाई ३ वर्ष ६ महिनाभित्र सम्पन्न गरी २०८५ असोज २५ गतेदेखि व्यावसायिक उत्पादनमा ल्याउने लक्ष्य राखिएको छ।