
काठमाडौं । नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जा सम्बन्धी सीमा पूर्ण रूपमा हटाएको छ । बुधबार जारी एकीकृत निर्देशन २०८१ संशोधन गर्दै यसअघि तोकिएको २५ करोड रुपैयाँको एकल ग्राहक कर्जा सीमा हटाइएको हो ।
गभर्नर विश्वनाथ पौडेलले अर्थ मन्त्रालयको पुँजीबजार सुधार कार्यदलको सुझावअनुसार लगानीकर्तालाई सेयर धितो कर्जा लिन सहज हुने व्यवस्था गरेका हुन् । यसअघि तत्कालीन गभर्नर महाप्रसाद अधिकारीले लगाएको ४, १२ र २५ करोडको सीमा हटाइएकाले लगानीकर्तालाई राहत मिल्ने भएको छ ।
साथै, संगठित संस्थाको सेयर, डिबेञ्चर तथा लगानीसम्बन्धी नियमहरूमा पनि केही हेरफेर गरिएको छ । अब बैंक तथा वित्तीय संस्थाले सूचीकृत सेयरमा दीर्घकालीन लगानी गर्न सक्नेछन् । साथै, प्राथमिक पुँजीको २० प्रतिशतसम्मको लगानी बिक्री गर्न पाइने व्यवस्था पनि हटाइएको छ ।