
काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवम् शहरी विकास मन्त्री कुलमान घिसिङ र नेपालका लागि संयुक्त राष्ट्रसंघ विकास कार्यक्रम (यूएनडीपी) की आवासीय प्रतिनिधि क्योको योकोसुका नेतृत्वको टोलीबीच शिष्टाचार भेटवार्ता भएको छ।
सिंहदरबारस्थित सहरी विकास मन्त्रालयमा भएको भेटमा आगामी निर्वाचनका लागि यूएनडीपीले गर्न सक्ने सहयोग र ऊर्जा तथा जलवायु परिवर्तन लगायतका क्षेत्रमा भइरहेका सहकार्यबारे छलफल भयो।
मन्त्री घिसिङले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई अनलाइन मतदान प्रविधि मार्फत मतदानको अवसर दिन आवश्यक सहयोगका लागि अनुरोध गरे।
साथै, उनले जलवायु परिवर्तनको असर न्यूनीकरण, ग्रामीण रोजगारी सिर्जना, जोखिमयुक्त हिमताल अध्ययन, विपद् पूर्वसचेतना, र जीवाश्म इन्धनलाई विद्युतीय ऊर्जाले विस्थापित गरी कार्बन उत्सर्जन घटाउने जस्ता क्षेत्रमा यूएनडीपीको सहयोग आवश्यक रहेको बताए।
जवाफमा, यूएनडीपीले निर्वाचनमा सहयोग गर्ने र जलवायु कोष बाट नेपालले पाउने आर्थिक सहायताका लागि पहल गर्ने विषयमा सकारात्मक रहेको जनाएको छ।