
काठमाडौं । सरकारले विराटनगर भन्सार कार्यालयबाट बहुप्रतीक्षित मूल्याङ्कन डेटाबेस प्रणाली (Valuation Database System) को सफल परीक्षण गरेको छ । प्रचलित ‘सन्दर्भ पुस्तिका’ (Reference Book) लाई विस्थापित गरी विश्व व्यापार संगठन (WTO/GATT) सम्झौतामा उल्लेखित र अधिकांश मुलुकमा चलिआएको यो मूल्याङ्कन विधि नेपालमा पहिलोपटक सुरु भएको हो ।
गत असोज ९ गते अर्थमन्त्री रामेश्वर खनालले उद्घाटन गरेको उक्त प्रणालीले हरेक छ महिनामा परिमार्जन हुने सन्दर्भ पुस्तिकाका विषयमा व्यवसायीको गुनासो सम्बोधन गर्ने सरकारको अपेक्षा छ । यो प्रणाली लागू भएपछि भन्सार जाँचपास भएको सबै वस्तुको मूल्य विवरण डिजिटल रूपमा संग्रह गरिनेछ ।
कारोबार मूल्यलाई मान्यता दिने डिजिटल प्रक्रिया
सरकारका अनुसार यो डेटाबेस भन्सार जाँचपासमा आएका वस्तुको विश्लेषण र तुलना गर्न मिल्ने डिजिटल स्रोत हो, जसले वस्तुको कारोबार मूल्य (Transaction Value) पहिचान गर्न सहयोग पुग्छ । व्यवसायीहरूले लामो समयदेखि कारोबार मूल्यलाई मान्यता दिन आग्रह गरिरहेको सन्दर्भमा मूल्याङ्कन डेटाबेस प्रणाली त्यसतर्फको डिजिटल प्रक्रियाका रूपमा आएको छ ।
महासंघको जोड, देशभर लागू गर्न माग
नेपाल उद्योग वाणिज्य महासंघ (FNCCI) ले ग्याट भ्यालुएसन अनुसार अनलाइन मूल्याङ्कन गर्न सकिने सम्भावना केही वर्षदेखि सरकारलाई देखाउँदै आएको थियो । महासंघको माग छ कि मूल्य निर्धारण डब्ल्यूटीओ/ग्याट भ्यालुएसन आर्टिकलमा उल्लेखित विधिहरूको पूर्ण पालना गरी सो अनुरुप कारोबार मूल्य निर्धारण गरिनुपर्छ ।
महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले हाल पाइलट (Pilot) का रूपमा विराटनगरबाट सुरु भएको मूल्याङ्कन प्रक्रिया उपयोग गर्न उद्यमी व्यवसायीहरूमा आग्रह गरेका छन् । साथै, उनले सबै भन्सार विन्दुमा उक्त सेवा तत्काल सुरु गर्न सरकारसँग पनि माग गरेका छन् ।
वैज्ञानिक विधि, न्यूनविजकीकरणमा नियन्त्रणको आशा
विश्व व्यापार संगठनले मान्यता दिएको हुँदा यो विधिलाई वैज्ञानिक मानिएको छ । यसले नेपालमा अनौपचारिक अर्थतन्त्रको एउटा पाटोको रूपमा रहेको न्यूनविजकीकरण (Under-Invoicing) र अधिक विजकीकरण (Over-Invoicing) को समस्यालाई धेरै हदसम्म सम्बोधन गर्ने अपेक्षा गरिएको छ ।