
काठमाडौं । जीवन बीमक संघ नेपालको छैटौं वार्षिक साधारण सभाबाट नयाँ कार्यसमिति चयन गरिएको छ । भदौ २९ गते काठमाडौंमा सम्पन्न सभाले सर्वसम्मत रूपमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीलाई संघको अध्यक्षमा चयन गरेको हो ।
संघको विधानअनुसार गठित नयाँ कार्यसमितिमा उपाध्यक्षमा सूर्यज्योति लाइफका प्रकाश विक्रम खत्री, सचिवमा रिलायबल नेपालका नारायण लोहनी, कोषाध्यक्षमा एशियन लाइफका दिनेश लाल श्रेष्ठ र सदस्यहरूमा हिमालयन लाइफका मनोजलाल कर्ण, राष्ट्रिय बीमा संस्थानका सुन्दर पन्थी तथा एलआइसी नेपालका प्रणय कुमार रहेका छन् ।
नवगठित कार्यसमितिले आफ्नो कार्यकालमा बीमा क्षेत्रको सुदृढीकरण, बीमा सचेतना अभिवृद्धि, कर्मचारी हकहित संरक्षण र बीमा सेवाको सर्वसुलभ विस्तारमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता जनाएको छ । साथै, बीमित हितका विविध कार्यक्रम सञ्चालन र नीति निर्माण तहमा प्रभावकारी उपस्थितिमा जोड दिने उल्लेख गरिएको छ ।
सभामा संघका सदस्यहरू तथा विभिन्न बीमा कम्पनीका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । कार्यक्रममा जीवन बीमा क्षेत्रका चुनौती, अवसर र संघको भावी रणनीतिबारे विस्तृत छलफल गरिएको थियो ।