
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले देशैभर जारी रहेको वर्षाका विषयमा दशबुँदे अध्यावधिक जानकारी सार्वजनिक गरेको छ। पछिल्लो मौसम तथा जलस्तरको अवस्थाबारे विभागले जारी गरेको सूचना यस्तो छ:
१) आज शनिबार दिउँसो १:५० बजेसम्म देशका कुनै पनि प्रमुख नदीहरूमा जलसतह सतर्कता तहभन्दा तलै रहेको छ।
२) पछिल्लो ६ घण्टामा मधेश र बागमती प्रदेशका जिल्लाहरूमा हल्कादेखि मध्यम वर्षा मापन भएको छ भने कोसी प्रदेशका धेरैजसो जिल्लाहरूमा हल्का वर्षा भएको छ।
३) काठमाडौँ जिल्लास्थित बागमती र कमला जलाधार क्षेत्रका जलमापन केन्द्रहरूको सतह बढ्दो क्रममा छ। यी क्षेत्रमा आज राति सतर्कता तह पार गर्ने सम्भावना रहेको छ।
४) आज दिउँसोदेखि मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेश भई बहने नदीहरूको बहाब उल्लेख्य बढ्न सुरु हुनेछ।
५) आज राति नवलपरासी-पश्चिम, नवलपरासी-पूर्व, तनहुँ, लमजुङ, गोरखा, धादिङ, चितवन, मकवानपुर, बारा, पर्सा, रौतहट, सर्लाही, काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रे, सिन्धुली र आसपासका जिल्लाहरू भई बहने ससाना नदीनालाहरूमा आकस्मिक बाढीको जोखिम रहेको छ।
६) भोलि आइतबार बिहानदेखि बेलुकीसम्मको अवधिमा नारायणी, कालीगण्डकी, सेती, मादी, मर्स्याङ्दी, दरौँदी, त्रिशूली, पूर्वी राप्ती, बागमती, कमला र आसपासका नदीहरू तथा तिनका शाखा नदीहरूमा बहाब उल्लेख बढ्ने र सतर्कताको तह आसपास पुग्न सक्ने सम्भावना छ।
७) आइतबार रातिदेखि कोसी र कन्काइ लगायत नदी जलाधारका क्षेत्रमा समेत बहाब उल्लेख्य बढ्न सक्नेछ।
८) बाढी र डुबान हुन सक्ने तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन जरुरी छ।
९) कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन विभागले आग्रह गरेको छ।
१०) थप जानकारीका लागि विभागको सामाजिक सञ्जाल “Nepal Flood Alert-नेपाल बाढी सूचना” (फेसबुक र एक्स/ट्विटर) मा हेर्दै गर्नुहोला।