
भैरहवा। कोरोना महामारीपछि बेलहिया नाका (रुपन्देही) भएर नेपाल आउने पर्यटकको सङ्ख्यामा क्रमिक सुधार आएको छ। अध्यागमन कार्यालयको पछिल्लो नौ महिनाको तथ्याङ्क अनुसार यो वर्ष (अद्यावधिक बिहीबारसम्म) ५८ देशका ६३ हजार ७९३ जना पर्यटक नेपाल प्रवेश गरेका छन्।
कार्यालयका अधिकृत वासुराम पौडेलका अनुसार अधिकांश पर्यटक तीर्थाटनका लागि नेपाल आउने गरेका छन्। यो अवधिमा सबैभन्दा बढी श्रीलङ्काबाट (१९,८३५ जना), त्यसपछि थाइल्यान्ड (१२,३४५ जना), र म्यानमार (९,२७८ जना) का पर्यटक भित्रिएका छन्।
कोभिड–१९ पछि पर्यटक आगमन सुस्त भएकोमा क्रमशः सुधार हुँदै गएको तथ्याङ्कले देखाउँछ। सन् २०२२ मा २० हजार २२० जना पर्यटक आएकोमा २०२३ मा बढेर ८१ हजार र २०२४ मा ९२ हजार ६४४ पुगेका थिए।
यसैबीच, अध्यागमन अधिकृत पौडेलले कर्मचारी अभाव कार्यालयको मुख्य चुनौती रहेको गुनासो पनि गर्नुभएको छ। १२ जनाको दरबन्दी रहेको कार्यालयमा हाल जम्मा ५ जना कर्मचारी मात्र कार्यरत छन्।