
काठमाडौं । दसैँ नजिकिँदै जाँदा हवाई यात्रुसँग बढी भाडा लिइएको गुनासो आइरहेको छ । यसको विपरित वायुसेवा सञ्चालक संघले हवाई कम्पनीहरूले सरकारले तोकेको अधिकतम भाडाभन्दा कम मूल्यमा नै टिकट उपलब्ध गराइरहेको दाबी गरेको छ ।
संघका अध्यक्ष मनोज कार्कीद्वारा जारी विज्ञप्तिमा बडादसैँ, तिहार र छठमा बढी भाडा लिने गुनासोमा संघको ध्यान पुगेको उल्लेख छ । उनले भने, “अहिले कम मूल्यमा नै टिकट उपलब्ध छ र आगामी दिनमा पनि यही नीति कायम रहनेछ ।”
असोज ८ गते पर्यटन मन्त्रालयमा भएको बैठकपछि यस्तो निर्णय भएको संघले जनाएको छ । साथै, दुर्गम क्षेत्रमा उडानको चाप कम रहेको र भाडादर एउटै रहेकोले सोही अनुसार भाडा लिइएको पनि विज्ञप्तिमा उल्लेख छ ।