काठमाडौँ । चालू आर्थिक वर्षको पहिलो महिनामै नेपालको व्यापार घाटा चुलिएको छ। नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार साउन महिनामा मुलुकको व्यापार घाटा १ खर्ब १९ अर्ब ११ करोड रुपैयाँ नाघेको छ। गत वर्षको सोही अवधिको तुलनामा यो २.५ प्रतिशतले बढेको हो।

बढ्यो आयात र निर्यात दुवै

साउन महिनामा नेपालको कुल वस्तु आयात ११.४ प्रतिशतले वृद्धि भई १ खर्ब ४३ अर्ब ४ करोड रुपैयाँ पुगेको छ। यसअघिको वर्षमा आयात घटेकोमा यस वर्ष बढेको देखिएको छ। आयात बढ्नुमा भारत, चीन र अन्य मुलुकबाट हुने आयातमा क्रमशः ७.५, १४.१ र २०.५ प्रतिशतले भएको वृद्धि मुख्य कारण हो।

यसैगरी, वस्तु निर्यातमा पनि उल्लेख्य वृद्धि देखिएको छ। साउनमा कुल वस्तु निर्यात ९५.७ प्रतिशतले बढेर २३ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ। गत वर्षको सोही अवधिमा भने निर्यात घटेको थियो। भारततर्फको निर्यातमा १५६.७ प्रतिशतको भारी वृद्धि भए पनि चीन र अन्य मुलुकतर्फको निर्यात भने घटेको छ।

के-के आयात भयो, के-के निर्यात?

यस अवधिमा भटमासको कच्चा तेल, यातायातका साधन, सवारीसाधन तथा स्पेयर पार्टस, चामल, कोइला र रासायनिक मलजस्ता वस्तुको आयात बढेको छ। यसको विपरीत हट रोल्ड सिट, खाने तेल, पेट्रोलियम पदार्थ र अन्य मेसिनरीको आयातमा भने कमी आएको छ।

त्यस्तै, निर्याततर्फ भटमासको तेल, पाम तेल, पोलिस्टरको धागो, अलैँची र जुटका सामानको निर्यात बढेको छ भने जिङ्क सिट, पार्टिकल बोर्ड, ऊनी गलैँचा, पिना र चियाजस्ता वस्तुको निर्यात घटेको छ।

समीक्षा अवधिमा निर्यात आयातको अनुपात १६.७ प्रतिशत पुगेको छ, जुन गत वर्षको सोही अवधिको ९.५ प्रतिशतभन्दा निकै राम्रो हो। यसले आयातको तुलनामा निर्यातको वृद्धिदर बढी भएको देखाउँछ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय