
काठमाडौं ।
नेपाली चलचित्र क्षेत्रमा सामाजिक सञ्जालमा चलिरहेको ‘शीत युद्ध’ र आपसी खिचातानीप्रति चलचित्र निर्माता सरोज न्यौपानेले गम्भीर चासो देखाएका छन्।
सामाजिक सञ्जालमा चलचित्रका आसपास चलिरहेको आरोप-प्रत्यारोप र विवादलाई उनले दुःखद र चिन्ताजनक बताएका छन्। उनको भनाइमा, धेरै सम्भावना र अवसरको बीचमा अघि बढिरहेको नेपाली चलचित्र उद्योगमा यसप्रकारको विभाजनको संस्कृति हावी हुनु राम्रो संकेत होइन।
न्यौपानेले स्पष्ट पारे अनुसार, उनको स्ट्यान्ड कुनै एक चलचित्रको पक्षमा र अर्कोको विपक्षमा रहेको छैन। “आगामी दिनमा प्रदर्शनको मिति तय गरेका सम्पूर्ण चलचित्रमा मेरो समान सुभेच्छा र शुभकामना छ,” उनले भने, “विगतदेखि नै यो क्षेत्रमा मेरो लडाइँ पात्रसँग नभएर प्रवृतिसँग हो।”
उनले जोड दिएका छन् कि समग्र चलचित्र क्षेत्रको हित नै सबैभन्दा महत्त्वपूर्ण हो र यसको विकासमा लागेका सबै निर्माता, निर्देशक, कलाकार, लेखक र प्राविधिकहरूको भलाई नै क्षेत्रको भलाईमा नै निर्भर गर्दछ।
“विवाद र विभाजनको यो चक्रले हामीलाई कहिँ पुर्याउने छैन,” उनले सचेत गराए, “गलत प्रवृतिलाई निरुत्साहित गर्न सबै एक हुनु जरूरी छ। एकतामा नै शक्ति छ।”
अन्त्यमा, उनले ‘बलिदान’ र ‘माइतीघर’ जस्ता आगामी चलचित्र मात्र नभएर सम्पूर्ण नेपाली चलचित्र क्षेत्रको भलोको लागि सफलता को शुभकामना दिएका छन् ।