
काठमाडौँ ।
एक्पर्ट हाइड्रो इन्भेस्टमेन्ट कम्पनीले निर्माण गर्ने ४४.५२ मेगावाट क्षमताको सानीभेरी जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन भएको छ । सिटिजन्स बैंकको नेतृत्वमा पाँच बैंकले समूहगत ऋण दिने भएका छन् ।
सोमबार भएको सम्झौता अनुसार, सिटिजन्स बैंकले २ अर्ब ५० करोड, नवील बैंकले १ अर्ब ५० करोड, नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले १ अर्ब २० करोड, सानिमा बैंक र सिद्धार्थ बैंकले प्रत्येक १ अर्ब रुपैयाँ लगानी गर्नेछन् । आयोजनाको कूल लागत ९ अर्ब ६० करोड रहेको छ ।
रुकुमपूर्व जिल्लामा निर्माण हुने यो आयोजना ४२ महिनाभित्र पूरा गर्ने लक्ष्य छ । यसले वार्षिक २८३.३७ गिगावाट घण्टा बिजुली उत्पादन गर्नेछ । नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद सम्झौता भइसकेको यो आयोजनाबाट उत्पादित बिजुली बाफीकोट सबस्टेशनमा जोडिनेछ ।