
भरतकुमार बस्नेत जडीबुटी व्यवसायी संघ काठमाडौंका संस्थापक अध्यक्ष तथा कुलायन नेचुरल हर्बल प्रा.लि.का सञ्चालक हुनुहुन्छ। लामो समयदेखि जडीबुटी कृषि व्यवसायमा संलग्न रहनुभएका बस्नेतले नेपालकै आन्तरिक स्रोत-साधनको प्रयोग गरी देशलाई आर्थिक समृद्धिको दिशामा लैजान सकिने बताउनुभयो । इन्डष्ट्री न्युज नेपालका सम्पादकले उहाँसँग गरेको कुराकानीको सम्पादित अंश:
तपाईं यो क्षेत्रमा प्रवेश गरेको कति समय भयो?
म यस क्षेत्रमा लागेको २८ वर्ष भयो।
२८ वर्षदेखि निरन्तर यस पेसामा रहँदा के कस्ता चुनौतीको सामना गर्नुपर्यो?
सुरुमा जडीबुटी व्यवसाय गर्नका लागि ऐन-कानुनको अभाव थियो, साथै जग्गा प्राप्ति नै हाम्रा लागि ठूलो चुनौती थियो। यसका लागि ठूलो लगानी आवश्यक पर्ने भएकाले त्यो पनि समस्याकै विषय थियो। बीउ-बिजनको समस्या, उत्पादनपछि प्रशोधन मेसिनको अभाव, र बजारीकरणमा आन्तरिक तथा अन्तर्राष्ट्रिय बजारमा पहिचानको कमी पनि चुनौतीका रूपमा रहे। यी सबै चुनौतीको सामना गर्दै हामीले अहिले व्यवसायलाई अगाडि बढाइरहेका छौँ। यस्ता समस्या समाधानका लागि राज्यले व्यवसायीको मर्म बुझेर आवश्यक कदम चाल्न जरुरी छ।
कृषिप्रधान देशका रूपमा परिचित नेपालको जडीबुटी क्षेत्रको पछिल्लो अवस्था कस्तो छ?
हाम्रो प्राकृतिक स्रोत र साधनको सही सदुपयोग गर्ने हो भने यसैबाट देशको आर्थिक समृद्धि सम्भव छ। तर, हालको अवस्था हेर्ने हो भने राज्यको सहज नीति-नियम नभएको कारण यो क्षेत्रमा काम गर्न समस्या छ। यही कारण धेरै स्रोत र साधन प्रयोग नभई खेर गइरहेका छन्। यदि राज्यले समयमै यसलाई प्रयोग र प्रशोधन गर्न दिने हो भने विभिन्न किसिमका जडीबुटीजन्य वस्तु उत्पादन गरी विदेशमा निर्यात गर्न सकिन्छ। यहाँ वन विभागले स्वीकृति दिए पनि जिल्ला वनले रोकिदिने, र सामुदायिक तथा इलाका वनको भूमिका पनि त्यस्तै हुने हुँदा हामीलाई प्रशोधनका लागि चाहिने कच्चा पदार्थ आफैँ उत्पादन नगरी पाउन मुस्किल छ।
जडीबुटी क्षेत्रको प्रवर्द्धन र विकासका लागि निजी व्यवसायीहरूले कस्तो भूमिका निर्वाह गरेका छन्?
यसमा पनि व्यावसायिक वर्गहरू छन्। कतिपय ठाउँमा किसानले खेती विस्तार गरेर, बीउ-बिजन उपलब्ध गराएर, प्रशोधन मेसिन दिएर, र उत्पादित वस्तुको बजारीकरण गरिरहेका छन्। किसानको प्रोत्साहनका लागि केही सीमित ठाउँमा मेसिनहरू उपलब्ध गराइएका पनि छन्। अहिलेसम्म जे जति सम्भव भएको छ, त्यो सबै निजी व्यवसायीहरुकै कारणले हो। हामीले आफ्नै जग्गामा जडीबुटी खेती गरेर उत्पादन र प्रशोधन गरेका छौँ। हामीकहाँ नपाइने कच्चा पदार्थ विभिन्न क्षेत्रको समन्वयमा आपूर्ति गर्दै आएका छौँ। सरकारले सहजीकरण नगर्दा र निजी व्यवसायीहरूसँग समन्वय नगरेका कारण जडीबुटी क्षेत्रले आफ्नो बजार लिन सकिरहेको छैन।
उदाहरणका लागि, जटामसी केही वर्ष पहिले ‘साइटिस’ बाट २ वर्षका लागि बन्द भयो, त्यसपछि खुल्यो। यस वर्ष फेरि वन विभागले इजाजत दिइरहेको अवस्थामा डिभिजन वन कार्यालयकै मातहतमा इजाजत दिनुपर्ने भनी रोकिएको छ। यस्तो हुँदा विदेशीहरूले विश्वास नगर्ने र हाम्रो उत्पादनको बजारीकरण नहुने समस्या आउँछ। अर्को उदाहरण ‘झ्याउ’ हो, जुन पश्चिम नेपालको डोटी, डडेल्धुरा, डोल्पामा पाइन्छ। यो जडीबुटी एक सिजन रुखमा टाँसिन्छ; यदि प्रयोग गरिएन भने त्यसै नष्ट हुन्छ र अर्को वर्ष कुर्नुपर्छ। यसमा पनि विभिन्न क्षेत्रको संयन्त्रका कारण अरबौँ रुपैयाँको नोक्सान भएको छ।
राज्यका तर्फबाट यो क्षेत्रलाई अगाडि बढाउन के कस्ता कदम चालिएका छन्?
राज्यका तर्फबाट सहजीकरण गर्न केही प्रयत्न भए पनि हाम्रो ‘इलभ म्ययच एयष्अिथ’ (Love Door Policy) नभएको र संघ, प्रदेश तथा स्थानीय सरकारको छुट्टाछुट्टै नीति भएका कारण सहजै परिणाम आउन सकेको छैन। राज्यले ‘अगरउड’ मा सहजीकरण गरिरहेको छ। यसमा गत वर्ष मात्र रोयल्टी खोलियो, जसमा वन विभागले ध्यान दिएको छ। बिरुवाहरूमा पनि गुणस्तरीय बिरुवा हुनुपर्छ भनी मागिएको छ, तर दिइएको बिरुवालाई अनुगमन नगरी अनुदान दिन उचित देखिँदैन। साथै, केही तेल बन्ने खालका जडीबुटीलाई वन कार्यालयको छुटपुर्जी चाहिने प्रावधान थियो, त्यसलाई अब बिलको भरमा छुट पाउने व्यवस्था छ। यदि राज्यले जग्गा, बीउ-बिजन र मलमा ध्यान दिने हो भने यो क्षेत्रमा कायापलट हुने देखिन्छ। हामीले उत्पादन गरेबापत र निर्यात गरेबापत १ करोड बराबरको ८% इन्सेन्टिभ सरकारले दिने व्यवस्था गरेको छ।
कृषि, जडीबुटीलाई व्यावसायिक ढङ्गले देशको समग्र आर्थिक गतिविधिमा जोड्न सके यो क्षेत्रको सम्भावना कस्तो देख्नुहुन्छ?
नेपाल भौगोलिक हिसाबले पनि कृषिप्रधान देश हो। विश्वमा नपाइने, भूगोलअनुसारका जडीबुटी हाम्रो देशमा जहाँ पनि पाइन्छन्। त्यसैले यसको सम्भावना ठूलो छ। म्यानुफ्याक्चरिङ इन्डस्ट्री मध्ये तुलनात्मक रूपमा हाम्रो जडीबुटीको प्रवर्द्धन, उत्पादन, उपभोग र निर्यात कम भए पनि यो व्यवसायमा हाम्रो देशको पुँजी देशमै परिचालन हुन्छ। यसले गाउँका किसानको आम्दानीको आधार बन्छ र पुँजी बाहिर जान पाउँदैन। अझ निर्यात गरेको परिणामअनुसारको पुँजी सिधै हाम्रो देशमा भित्रिन्छ। त्यसैले राज्यले आफ्नै देशमा पुँजी परिचालन हुने क्षेत्रमा लगानी गर्ने बाटो बनाएर बाहिरबाट पनि पुँजी तान्ने गरी जडीबुटी कृषि क्षेत्रमा लगानी गरियो भने देश आर्थिक गतिविधिमा जडीबुटीकै माध्यमबाट अगाडि बढ्न सक्छ।
तपाईं आफैँ कृषि पेसामा जोडिएको व्यक्ति, यो पेसा अङ्गाल्दै गर्दा सहजता/असहजता कस्तो महसुस गरिरहनुभएको छ?
राज्यले सपोर्ट गरेको भए हाम्रो मनोबल पनि बढ्थ्यो। यो व्यवसाय अन्य पेसाजस्तो सजिलै पैसा कमाउने व्यवसाय होइन, यो धेरै झन्झटिलो छ। तर, हामी यसैमा आबद्ध भएको कारण अन्य व्यवसायमा लाग्न सक्दैनौँ। हाम्रो २० वर्षभन्दा बढी लगानी यसै क्षेत्रमा छ। हामी असहज परिस्थितिलाई सहजीकरण गर्दै अगाडि बढिरहेका छौँ र बढ्छौँ पनि। विश्वमा नपाइने बिरुवा र जडीबुटी नेपालले उत्पादन गरेर निर्यात गर्न सक्नुपर्छ। म आफैँले अहिले २० बिघामा नर्सरी लगाइरहेको छु र बिस्तारै बिरुवा निर्यातको पनि लक्ष्य राखेको छु।
४५% जङ्गल रहेको नेपालको वन पैदावारबाट उत्पादन हुने जडीबुटी हर्बलको प्रशोधन, उत्पादन र बजारीकरणका लागि सम्बन्धित निकायको कस्तो भूमिका रहन्छ?
पहिला उत्पादनमा नै ध्यान केन्द्रित गर्नुपर्छ। यदि उत्पादन कम र माग (Demand) बढी भयो भने हामीले धान्न पनि सक्दैनौँ। साथै, उत्पादन पनि कम लागतमा गर्न सक्नुपर्छ। जस्तै, लेमनग्रासको हाम्रो देशमा ४००० रुपैयाँ सरकारी रेट छ, त्यही भारतमा १७०० छ र सोहीअनुसार निर्यात भइरहेको छ। हामीले प्रतिस्पर्धामा भाग लिएर बाहिरको बजार कभर गर्न सक्ने अवस्था छैन, किनभने हाम्रो बजार मूल्य नै महँगो छ। कच्चा पदार्थ नै महँगो परेपछि प्रशोधन गरेर बजारमा बिक्री गर्ने अवस्थासम्म धेरै महँगो पर्न जान्छ। त्यसैले, बजारीकरणभन्दा पनि सस्तोमा उत्पादन हाम्रो प्राथमिकता हुनपर्छ। कम लागतमा उत्पादन भएर गुणस्तरीय सामग्री बिक्री गर्ने हो भने बजार आफैँ बन्दै जान्छ, निर्यात पनि गर्न सकिन्छ र बाह्य पुँजी पनि भित्र्याउन सकिन्छ।
व्यवसाय सुरक्षाका लागि राज्यका तर्फबाट खेल्नुपर्ने भूमिका के हुन सक्छ?
बीमाको व्यवस्था
बीउ-बिजनमा अनुदान
सिँचाइको व्यवस्था
सस्तो ब्याजमा ऋण
जङ्गलको जमिन वा खोला उकासको जमिन लिजमा उपलब्ध गराउने
पत्कर मलको व्यवस्थाका लागि कारखाना सञ्चालन गर्ने
न्यूनतम दर (Minimum Rate) तोकेर राज्यले उत्पादित वस्तु खरिद गरिदिने
अनुदानको व्यवस्था गरिदिने
यी विषयलाई राज्यले गम्भीरतापूर्वक लिन आवश्यक छ।
यो क्षेत्रमा प्रवेश गरेका व्यवसायीलाई के कस्तो सल्लाह दिन चाहनुहुन्छ?
यो अन्य पेसाजस्तो सजिलै आम्दानी गर्ने पेसा होइन। यो क्षेत्रमा राम्रोसँग बुझेर मात्र प्रवेश गर्न सल्लाह दिन्छु। बजारको आवश्यकताअनुसारका जडीबुटीजन्य वस्तुको उत्पादन गरेमा राम्रो छ।
देशको समग्र आर्थिक समृद्धिका लागि यो क्षेत्रको कस्तो भूमिका रहन्छ?
नेपालको कृषि जडीबुटी क्षेत्रको भविष्य राम्रो छ। नेपालको ६६% कृषिमा आश्रित जनसंख्यालाई आत्मनिर्भर बनाउनका लागि कृषि जडीबुटी क्षेत्रको महत्त्वपूर्ण भूमिका रहन्छ। औद्योगिक क्षेत्रमध्ये महत्त्वपूर्ण क्षेत्रका रूपमा रहेको कृषि जडीबुटी क्षेत्रलाई राज्यले महत्त्व दिएर अगाडि बढाउने हो भने आत्मनिर्भर अर्थतन्त्रको महत्त्वपूर्ण कडीका रूपमा यो व्यवसाय आउँछ।