
काठमाडौँ ।
जलवायु परिवर्तनको असर न्यूनीकरण गर्ने उद्देश्यसहित सम्पादक समाज नेपालले सिन्धुपाल्चोकको गुफाडाँडामा शनिबार एक विशेष पदयात्रा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा देशका विभिन्न सञ्चारमाध्यमका करिब १०० जना पत्रकारहरुको उपस्थिति रहेको थियो।
कार्यक्रममा मेलम्ची नगरपालिकाका नगरप्रमुख आइतमान तामाङले गुफाडाँडाको प्राकृतिक सौन्दर्य, हरियाली र हिमशृङ्खलाको दृश्यावलोकनले यो स्थानलाई विशिष्ट बनाएको उल्लेख गर्दै स्थानीय सरकार आफैंले सकेसम्म यसको प्रवर्द्धन गर्ने प्रतिबद्धता जनाए।
मेलम्ची–९ का वडा अध्यक्ष किरणदीप खड्काले गुफाडाँडालाई प्रमुख पर्यटकीय गन्तव्य मात्र नभई जलवायु परिवर्तन अध्ययन केन्द्रका रूपमा विकास गर्ने योजना रहेको जानकारी दिए। उनका अनुसार, स्थानीय स्रोतसाधनमा आधारित होमस्टेहरू पनि प्रवर्द्धनको बाटोमा उन्मुख भइरहेका छन्।
कार्यक्रममा सम्पादक समाज नेपालका महासचिव श्याम डोटेलले गुफाडाँडामा जलवायु परिवर्तनको असर दिनप्रतिदिन बढ्दो क्रममा रहेको उल्लेख गर्दै त्यसको न्यूनीकरण र वातावरण संरक्षणमा जनचेतना फैलाउने उद्देश्यले पत्रकार पदयात्रा गरिएको बताए। उनले स्थानीय उत्पादन र परिकारलाई आफ्नै पहिचान बनाउनुपर्नेमा पनि जोड दिए।
पत्रकार महासङ्घ सिन्धुपाल्चोकका अध्यक्ष ध्रुव दङ्गालले पत्रकार समुदाय सदैव गुफाडाँडाको विकास र समृद्धिका पक्षमा रहने विश्वास व्यक्त गरे।
पदयात्रामा सम्पादक समाज नेपालका संस्थापक किरण वैद्य, गोरखापत्र दैनिकका प्रधान सम्पादक जुनारबाबु बस्नेत, वरिष्ठ पत्रकार तीर्थ कोइराला, श्याम डोटेल लगायतका पत्रकार सहभागी थिए। उनीहरूलाई शङ्खरापुर नगरपालिकाका नगरप्रमुख रमेश स्थापितले स्वागत तथा सत्कार गरेका थिए।
उक्त कार्यक्रमले पत्रकार तथा स्थानीय समुदायबीच सहकार्य गर्दै गुफाडाँडाको जैविक विविधता र जलवायु महत्त्वका विषयमा चेतना अभिवृद्धि गरेको आयोजक संस्थाले जनाएको छ।