
ललितपुर ।
वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो जात्रा आइतबार ललितपुरको जावलाखेलमा सम्पन्न भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले यस विशेष जात्राको अवलोकन गरेका छन् ।
गुठी संस्थान ललितपुरका कर्मचारीहरूले भोटो देखाएका थिए । परम्पराअनुसार, मच्छिन्द्रनाथको रथ लगनखेलबाट जावलाखेल पुगेको चौथो दिन भोटो देखाउने चलन छ । यस अवसरमा राष्ट्रपति पौडेलले रातो मच्छिन्द्रनाथका साथै जीवित देवी कुमारीको समेत दर्शन गरेका थिए ।
भोटो जात्रा अवलोकनका लागि उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा, सभामुख देवराज घिमिरे, उपप्रधानमन्त्रीहरू, मन्त्रीहरू, संवैधानिक अंगका प्रमुखहरू, कूटनीतिक नियोगका प्रतिनिधिहरू तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो ।
गत वैशाख ११ गते सुरु भएको रथ जात्रा भोटो प्रदर्शनसँगै यस वर्षका लागि विधिवत् रूपमा सम्पन्न भएको छ । रातो मच्छिन्द्रनाथलाई अन्नदाता, पानी पार्ने देवताका रूपमा तथा अनिष्ट र अनिकाललाई सामना गर्ने देवताका रूपमा मानिने भएकाले यस जात्राको पुरातात्विक, ऐतिहासिक, सांस्कृतिक र धार्मिक महत्त्व रहेको छ ।