काठमाडौँ ।

बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले मुलुकको अर्थतन्त्रका महत्वपूर्ण चुनौतीहरू र तिनको समाधानका लागि सरकारका कार्ययोजनाबारे प्रकाश पारेका छन् । उनले सम्पत्ति शुद्धीकरणसम्बन्धी जोखिमको निगरानी सूचीबाट मुलुकलाई निर्धारित समयअगावै बाहिर निकाली अर्थतन्त्रको विश्वसनीयता अभिवृद्धि गर्नु सरकारको महत्त्वपूर्ण कार्यसूची भएको बताएका छन्।

अर्थमन्त्री पौडेलले पहिलो सार्वभौम क्रेडिट रेटिङबाट प्राप्त उत्साहजनक नतिजालाई बाह्य पुँजी परिचालनका लागि उपयोग गर्दै माथिल्लो रेटिङ प्राप्त गर्न थप आर्थिक सुधारका कार्यक्रम अघि बढाउने प्रतिबद्धता व्यक्त गरे। उनले निजी क्षेत्रको मनोबल बढाउन र लगानीको वातावरण सिर्जना गर्न अध्यादेशमार्फत कानुनमा गरिएको सुधारबाट निजी क्षेत्र उत्साहित भएको बताएका छन् । सार्वजनिक लगानीलाई प्रतिफलयुक्त क्षेत्रमा केन्द्रित गरी निजी क्षेत्रको पुँजी र प्रविधि आकर्षित गर्दै आर्थिक क्रियाकलापमा गुणात्मक वृद्धि गरिनेमा उनले जोड दिए। आर्थिक वृद्धिका लागि उच्च योगदान गर्ने क्षेत्रमा थप नीतिगत, कानुनी र प्रक्रियागत सुधार गर्दै निजी क्षेत्रलाई आर्थिक समृद्धिको प्रमुख संवाहकको भूमिकामा स्थापित गरिने अर्थमन्त्रीको भनाइ थियो। उनले उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग, २०८१ को प्रतिवेदन क्रमिक रूपमा कार्यान्वयन गरिने जानकारी दिएका छन् ।

सन् २०३० सम्ममा दिगो विकास लक्ष्य हासिल गर्न र सन् २०२६ मा विकासशील राष्ट्रमा स्तरोन्नति भएपश्चात् हुन सक्ने लगानीको न्यूनता पूरा गर्न स्रोतको विविधीकरण गरिने अर्थमन्त्रीले बताएका छन् । राजस्व प्रशासनलाई व्यावसायिक र राजस्व प्रणालीलाई सुदृढ बनाइने, तथा सार्वजनिक ऋणलाई उच्च प्रतिफलयुक्त क्षेत्रमा परिचालन गरिने उनको भनाइ थियो। अनुपयुक्त आयोजना कटौती गरी प्राथमिकता प्राप्त र नतिजामूलक आयोजना कार्यान्वयनलाई उच्च महत्त्व दिइनेछ। विकास वित्तको न्यूनता पूर्ति गर्न वैकल्पिक वित्तका नवीन र सम्भाव्य उपकरणहरूको उपयोग गरिनेसमेत बजेटमा उल्लेख छ।

प्रतिस्पर्धी वस्तु तथा सेवाको निर्यात वृद्धि र उपभोग्य वस्तुको आन्तरिक उत्पादन प्रवर्द्धनमार्फत व्यापार सन्तुलनमा जोड दिइने अर्थमन्त्रीले बताएका छन् । वैदेशिक रोजगारीमा रहेका विशेषज्ञ र सीपयुक्त नेपालीलाई स्वदेशमै उद्यमशील र स्वरोजगार बन्न आकर्षित गरिनेछ। नवप्रवर्तन र उद्यमशीलता प्रवर्द्धन गरी युवा लक्षित रोजगारी सिर्जना गर्न उच्च प्राथमिकता दिइने उनले जानकारी दिए ।

अर्थमन्त्री पौडेलले वर्तमान सरकार गठन भएपछि हासिल भएका सकारात्मक परिणामको जगमा थप उपलब्धि हासिल गर्न, जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउन, सबै प्रकारका निराशा चिर्न र आम जनतामा आशा जगाउन सरकार दृढ संकल्पित रहेको बताए । उनले प्रस्तुत बजेट अर्थतन्त्रको विस्तार र आर्थिक अवसर सिर्जना गर्ने मुख्य ध्येयका साथ तर्जुमा गरिएको जानकारी दिए ।

नेपालको संविधानमा उल्लिखित अधिकारका सूची, आवधिक योजना, सरकारको साझा संकल्प तथा नीतिगत प्रतिबद्धता, यस सम्मानित सदनबाट पारित भएको नेपाल सरकारको नीति तथा कार्यक्रम, माननीय सदस्यहरूले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा व्यक्त गर्नुभएका विचार, संसदका विषयगत समितिहरू, निजी क्षेत्र, विद्वत् समुदाय र जनस्तरबाट प्राप्त सुझावलाई बजेट तर्जुमाको आधार बनाएको उनले स्पष्ट पारे ।

 

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय