
विराटनगर ।
युवाहरूलाई स्वदेशका उद्योग तथा व्यवसायतर्फ आकर्षित गर्न उद्योग संगठन मोरङले विराटनगरमा दुई दिने सिप उत्सव २०८२ आयोजना गर्ने भएको छ। उद्योग संगठन मोरङ, इन्स्योर हेल्भेटास र कोशी प्रदेश सामाजिक विकास मन्त्रालयको संयुक्त पहलमा जेठ १० र ११ गते उक्त उत्सव हुने जानकारी दिइएको छ।
संगठनद्वारा आयोजित पत्रकार सम्मेलनमा जनाइएअनुसार, उत्सवमा अन्तरशिक्षालय सिप प्रतिस्पर्धा, लाइभ तालिम, वृत्ति परामर्श तथा सिप प्रदर्शन जस्ता कार्यक्रम समावेश हुनेछन्। संगठनका अध्यक्ष राकेश सुरानाका अनुसार, उत्सवले तालिम प्रदायक संस्थान, सरकारका सरोकारवाला निकाय र प्रशिक्षार्थीबीच समन्वय सुदृढ बनाउनेछ। यसले उद्योगलाई आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादनमा सहयोग पुर्याउने र उत्पादन भएका जनशक्तिलाई उपयुक्त रोजगारीमा सुनिश्चित गर्ने लक्ष्य राखिएको छ।
सिप उत्सवको मुख्य उद्देश्य भनेको रोजगारदाता, तालिम प्रदायक र रोजगार खोजीमा रहेका जनशक्तिलाई एउटै मञ्चमा ल्याएर सिप विकासका विविध आयामहरूबारे जानकारी दिनु हो। त्यस्तै, प्राविधिक शिक्षा र सिप तालिमको महत्वबारे जनचेतना फैलाउनु, बाह्य प्राविधिक जनशक्तिमाथिको निर्भरता घटाएर स्वदेशमै दक्ष जनशक्ति उपलब्ध गराउने सन्देश प्रवाह गर्नु पनि यस उत्सवको उद्देश्य हो।