
चितवन ।
चालु आर्थिक वर्षको साउनदेखि हालसम्म चितवनमा दर्ता भएका २७९ उद्योग बन्द भएका छन् । उद्योग तथा वाणिज्य कार्यालयका अनुसार तीमध्ये धेरैजसो उद्योग सञ्चालनमा आउन नपाउँदै बन्द गरिएका हुन् । गत वर्ष सोही अवधिमा १८१ उद्योग बन्द भएका थिए।
कार्यालयका सूचना अधिकारी शक्तिमान कुमालका अनुसार वैदेशिक रोजगारीका लागि नाममात्रको कम्पनी दर्ता गर्ने प्रवृत्तिले उद्योग बन्द हुने क्रम बढेको हो। उनका अनुसार, “आयआर्जन देखाउन कम्पनी खोल्ने र विदेश गइसकेपछि त्यसलाई बन्द गरिन्छ ।”
यस वर्ष मात्रै २७३ नयाँ उद्योग दर्ता भएका छन् । तीमध्ये २६२ निजी फर्म, सात सामुदायिक फर्म र चार प्राइभेट लिमिटेड कम्पनी छन्। गत वर्ष सोही अवधिमा ३२९ उद्योग दर्ता भएका थिए, जुन यो वर्षभन्दा धेरै थियो ।
बन्द भएका उद्योगमध्ये उत्पादनमूलक, कृषि तथा वनजन्य, पर्यटन तथा सेवामूलक उद्योगहरू रहेका छन् । अधिकांश उद्योगहरू आम्दानीको पर्याप्त सम्भावना नदेखिएपछि वा विदेश जाने तयारीका कारण बन्द गरिएका हुन् ।
यसै आर्थिक वर्षमा दुई हजार १६७ उद्योग नवीकरण गरिएका छन्। तीमध्ये नौ उद्योगले नामसारी र ३१ उद्योगले ठाउँसारी गरेका छन् ।