काठमाडौँ । साउनदेखि कात्तिकसम्मको चार महिनामा सरकारले विद्युतीय सवारीसाधन (ईभी) आयातबाट कुल रु २ अर्ब ५५ करोड १३ लाख ६५ हजार राजस्व संकलन गरेको छ। भन्सार विभागका अनुसार चीन, भारत, थाइल्यान्ड, कोरिया, बेलायत, जर्मनी र अमेरिकाबाट विभिन्न क्षमता र मोडेलका ईभी आयात भएका छन्।
चीनबाट सबैभन्दा धेरै ईभी भित्रिएका छन्। यस अवधिमा चीनबाट आयात भएका मिनीबस, माइक्रोबस, जिप–कार–भ्यान र तीनपांग्रे गरी सरकारलाई ठूलो मात्रामा राजस्व प्राप्त भएको छ। भारत, थाइल्यान्ड र अमेरिका लगायतका देशबाट पनि उल्लेख्य संख्यामा ईभी भित्रिएका छन्।
५१ देखि १०० किलोवाट क्षमता भएका सवारीसबैभन्दा धेरै आयात हुँदा यस वर्गबाट मात्र करिब दुई अर्बभन्दा बढी राजस्व संकलन भएको विभागले जनाएको छ। त्यस्तै उच्च क्षमताका (१०१–२०० किलोवाट र सोभन्दा माथि) सवारी आयातबाट पनि करोडौँ रुपैयाँ राजस्व थपिएको छ।
सरकारी तथ्यांकअनुसार ईभी आयात क्रम बढेसँगै राजस्व संकलनमा पनि उल्लेख्य वृद्धि भएको भन्सार विभागको निष्कर्ष छ।




