काठमाडौं ।
कर्णाली प्रदेशको राजधानी सुर्खेतमा डिजिटल कर्णाली कन्क्लेभ आयोजना हुनेभएको छ । कर्णाली प्रदेश सरकार र आईसीटी फाउन्डेसन नेपालको संयुक्त आयोजनामा वैशाख ५ र ६ गते डिजिटल नेपाल कन्क्लेभ २०२५ हुने भएको हो ।
कन्क्लेभ आयोजनाको लागि आन्तरिक मामिला तथा कानुन मन्त्रालय, कर्णाली प्रदेश र आईसीटी फाउन्डेसन नेपालबीच हालै सम्झौता भएको छ । वीरेन्द्रनगरको सिद्दार्थ सन्नी रिसोर्टमा हुने कन्क्लेभमा डिजिटल कर्णालीको हालको अवस्था, अवसर, सम्भावना र चुनौतीका विषयमा बृहत् छलफल हुने जनाइएको छ । ‘इम्पावारिङ द फ्युचरः इन्नोभेसन, कनेक्टिभिटी एन्ड सस्टेनवलिटी’ मुख्य बिषयमा केन्द्रित हुने कन्क्लेभमा विभिन्न चार किनोट प्रस्तुतिसँगै आठ बढी सेसनहरु रहनेछन् । कन्क्लेभमा ५० बढी विज्ञहरु राष्ट्रिय र अन्तरास्ट्रियस्तरबाट वक्ताको रुपमा सहभागी हुने आयोजकले जनाएको छ । कर्णाली प्रदेशका सम्पूर्ण स्थानीय सरकार, प्रदेशसभा, सरकारी र निजी क्षेत्रको उपस्थितिमा हुने कार्यक्रम डिजिटल रुपान्तरणको लागि फलदायी हुने आन्तरिक मामिला मन्त्रालयका सचिव पुष्पराज शाहीले बताए ।
आईसीटी फाउन्डेसनले कर्णालीलाई विशेष प्राथमिकतामा राखेर कर्णाली कन्क्लेभको आयोजना गर्न लागिएको अध्यक्ष राजन लम्सालले बताए । दोस्रो संस्करणले डिजिटल साक्षरतासँगै प्रदेशमा भएका विभिन्न सम्भावनालाई उजागर गर्दै प्रविधिमार्फत जीवनस्तर सुदृढ बनाउन सहजीकरण गर्ने लम्सालले बताए । डिजिटल कर्णाली कन्क्लेभ २०२५ मा डिजिटल पूर्वाधार, डिजिटल नेतृत्व, नीति, जनशक्ति, शिक्षा, कृषि, पर्यटन, डिजिटल हेल्थ, इन्नोभेसन, उद्यमशीलता र ई–गर्भेन्सको विषयमा विभिन्न प्रस्तुति र प्यानल छलफल गरिने आयोजकले जनाएको छ । यसैगरी कर्णालीको लागि विकास गरिएका सोलुसन र आइडियाहरुको शोकस र प्रस्तुति पनि हुनेछ ।




